Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

निजामती विद्यालय : चन्द्रशमशेरले गरेको दासप्रथा उन्मूलनको न्यु भेरियन्ट

गाेपाल घिमिरे काठमाडौं जेठ २७, २०७८       

निजामती विद्यालय : चन्द्रशमशेरले गरेको दासप्रथा उन्मूलनको न्यु भेरियन्ट

त्रिभुवन चन्द्र अर्थात् त्रि-चन्द्र कलेज खोलेर पनि चन्द्रशमशेर खुसी थिएनन् । कलेजको उद्घाटनकै क्रममा उनले भनेका थिए- ‘मैले आफ्नो खुट्टामा आफैँ बन्चरो हानेँ ।’ उनलाई थाहा थियो जब मान्छे शिक्षित हुन्छन् तब एकतन्त्रीय राणाशासनका बारेमासबैलाईथाहा हुन्छ र आफ्नो वंशको शासन पनि यही कारणले अन्त्य हुन सक्छ, भन्ने ।उनमा बेचैनी र छट्पटाहट मात्र थियो । कारण आफू श्री ३ हुन र श्री ३ भएपछि पनि आफूले गरेका कुकृत्यका कारण उनी अत्यन्त डराइरहन्थे । जिउँदा मान्छेसँग होइन, आफ्ना कारण मारिएका आफन्तर विश्व युद्धमा होमिन पठाइएका नागरिकबाट । उनको ध्यान सम्पत्ति जोड्नमा मात्र केन्द्रित थियो । अहिलेका नेताहरु जस्तै शक्ति, सत्ता र सम्पत्ति नै सबैथोक सम्झन्थे, चन्द्रशमशेर पनि ।

चन्द्रशमशेरले श्री ३ हुँदा व्यक्तिगत रुपमा २ करोडभन्दा बढी आर्थिक संकलन गरिसकेका थिए, तत्कालीन समयमा । चाहेअनुसार सम्पत्ति त संकलन गरे तर कुनै कृति राख्ने काम गरिएन भन्ने उनलाई लाग्न थाल्यो । अमेरिकामा अब्राहम लिंकनले दासप्रथा उन्मुलन गरेर संसारभर वाहवाही पाएको उनलाई थाहा थियो । नेपालबाट पनि दासप्रथा उन्मूलन गरेर आफ्नो कृति राख्ने सोच बनाए । यही कुरा आफ्नी रानीलाई बताए । रानी पनि खुसी भएर ‘दासप्रथा उन्मूलन गरिबक्सियोस् न तपाईंले गरेको काममा कसैले विरोध गर्न सक्ने होइन’ भनिन् । चन्द्रशमशेरले रानीलाई ‘तत्कालै घोषण गर्‍यो भने दास मालिकहरु रिसाउन सक्छन् भन्ने डर छ’ भने । ‘दास मालिकहरु किन रिसाउने ? दुई चार सय दिएर पुस्तौँपुस्ता काम लगाइरहेका छन्। अझै कति लगाइरहनुपर्ने ?’ रानीले उत्तर दिइन् । ‘त्यसो नभन, दास मालिकहरु हाम्रै मान्छे हुन् । राज्यकोषबाट क्षतिपूर्ति दिएर भएपनि उनीहरुलाई खुसी राख्नुपर्छ’ चन्द्रशमशेरले भने । ठ्याक्कै अहिले सरकारले २०७८/७९ को बजेटमै निजामती कर्मचारीलाई खुसी पार्न उनीहरुका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै आकर्षक छात्रवृत्तिका साथै निजामती स्कुल खोल्ने नीति लिएर अगाडि बढेको छ । सर्वसाधारणका सन्तानले गुणस्तरीय शिक्षा पाउनुहुँदैन हो ? के यसलाई चन्द्रशमशेरले दास मालिकलाई खुसी पार्न खोजेजस्तै निजामती कर्मचारीलाई खुसी पार्न खोजिएको न्यु भेरियन्ट भन्न पाइन्न र ?

प्रश्न अनगिन्ती उठ्छन् । के निजामती कर्मचारीका छोराछोरीले मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्नु पर्ने हो ? फेरि देशको सेवा निजामती कर्मचारीले मात्र गरेका हुन्? स्थानीय तहमा कर्मचारी छन् भन्ने थाहा छ कि छैन मेरो सरकारलाई ? स्वास्थ्य सेवाका स्वास्थ्यकर्मीले चाहिँ कुन विद्यालयमा पढाउने, छोराछोरीलाई ? संस्थानका कर्मचारी पनि होलान् ? जन्मजात बच्चामा सरकारबाटै किन विभेद ?यसरी निजामतीका छोराछोरीलाई मात्र लक्षित गरी सरकारद्वारा नै विद्यालय स्थापना गरिनु भनेको अहिले भएका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन । सुधार्न पनि सकिँदैन भनेर सरकारले नै ठोकुवा गरेको होइन र ?

हुन त प्रहरीका, सेनाका छोराछोरीका लागि पनि विद्यालय छन् । निजामतीका छोराछोरीका लागि विद्यालय हुँदा के बिग्रिन्छ र ? भन्ने लाग्न सक्छ । यहाँ बिग्रिन्छ भन्न खोजिएको होइन । यसै त हाम्रो शिक्षा क्षेत्र तहसनहस छ, त्यसमा पनि विभेद किन ? प्रश्न मुख्य यो हो । अहिले पनि सरकारी अफिसरले आफ्नो कमाइले सामान्य निजी स्कुलमा पनि पढाउन सक्दैन तर ९० प्रतिशतभन्दा बढी कर्मचारीका छोराछोरी राम्रै महँगा निजी स्कुलमा पढिरहेका छन् । चाहे अनैतिक कमाइबाट होस् चाहे सरकारी कर्मचारी कार्डको बलमा होस् । यहाँ अहिलेसम्म निजामती कर्मचारीका छोराछोरी कहाँ पढेका छन् भन्ने कुरा पनि मुख्य रुपमा उठाउन खोजेको होइन । मुख्य कुरा हो शिक्षाजस्तो संवेदनशील क्षेत्रमा सबैको समान पहुँच र समान अवसर प्राप्त गर्ने बाटोलाग्नुपर्नेमा सरकार नै विभेदको बिजारोपण किन गर्दैछ ? यसले हाम्रो भविष्यलाई कता डोहोर्‍याउँछ ।

एकातिर हाम्रो शिक्षा यसै पनि व्यवहारोपयोगी छैन भनेर सबैले स्वीकारेको अवस्था छ ।अर्कातिर विद्यालय, विश्वविद्यालयमा एउटा कुरा पढाइन्छ लोकसेवाको परीक्षामा अरु नै प्रश्न सोधिन्छ पनि भनिन्छ । भोलि निजामती विद्यालयमा त लोकसेवाको अतिरिक्त पाठ्यक्रम पनि समावेश होला अनि लोकसेवामा निजामती स्कुलको वर्चस्व स्वतः हुने नै भयो । यसबाट घुमाउरो रुपमानिजामतीका सन्तान मात्र निजामती सेवामा सहज रुपमा प्रवेश गर्न सक्ने वातावरण बनाउन खोजिएको देखिन्छ । रोलक्रमअनुसार राणा प्रधानमन्त्री भएजस्तै । यसरी निजामती कर्मचारीलाई खुसी पार्न उनीहरुका सन्तानलाई मात्र लक्षित गरी विद्यालय स्थापना गर्नु चन्द्रशमशेरको दासप्रथा उन्मूलनको न्यु भेरियन्ट होइन र ?

फेरि निजामतीका सन्तानका लागि छुट्टै विद्यालय भएपछि यसै कमजोर रहेकासामुदायिक विद्यालयलाई कर्मचारीले हेर्ने धारणा कस्तो बन्ला ? मनन गरौँ त । हामी त प्रधानमन्त्री, मुख्य सचिवदेखि शौचालय सफा गर्ने सहयोगीका छोराछोरीसम्म एउटै विद्यालयमा एउटै पाठयक्रम र पाठ्यपुस्तक पढ्न पाउने वातावरणको खोजीमा छौँ होइन र ? हाम्रा राजनीतिक त्याग र बलिदान पनि सायद यस्तै समानताको अधिकारका लागि भएका थिए नि होइन र ? यसरी सेवा वा पेसाका आधारमा शिक्षा दिने र विद्यालय स्थापना गर्ने हो भने सामुदायिक विद्यालयलाई बन्द गरौँ अनि निजामतीका छोराछोरीलाई निजामती विद्यालय, स्थानीय कर्मचारीका छोराछोरीलाई स्थानीय कर्मचारी विद्यालय, स्वास्थ्यकर्मीका छोराछोरीलाई स्वास्थ्यकर्मी विद्यालय, कृषकका छोराछोरीलाई कृषक विद्यालय, संस्थानका कर्मचारीका छोराछोरीलाई संस्थान विद्यालय, स्थानीय नेताका छोराछोरीलाई स्थानीय नेता विद्यालय अनि केन्द्र्रीय नेताका छोराछोरीलाई नेता विद्यालय यस्तै-यस्तै विद्यालय स्थापना गरौँ न सरकार ।

जतिसुकै राजनीतिक परिवर्तन भए पनि समानताका कुरा गरे पनि तिम्रो मथिंगलमा चन्द्रशमशेरको दासप्रथा उन्मूलनको न्यु भेरियन्टले बास गरुन्जेल केही हुने देखिएन ।

सम्बन्धित खबरहरु