Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

प्रदेश नं. २ मा सत्ता साझेदारीका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

प्रदेश नं. २ मा सत्ता साझेदारीका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति

प्रदेश नं. २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्ता समीकरणको विषयलाई लिएर प्रदेश नं. २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त छन् । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् ।

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मंगलबार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् । दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ ।

अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन् । सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्रयाएर १० वटा पुर्‍याउने तयारी छ । जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्रयाएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

सत्ता साँझेदारीको सन्दर्भमा छलफल गर्न बनेको सरकारी र कांग्रेसका कार्यदलबीच अहिले बिहान बैठक बसी अन्तिम टुंगाे लगाएर सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भएको छ । आज सम्झौतामा दुवै पक्षको हस्ताक्षर भएपछि साँझ सम्ममा नवनियुक्त मन्त्रीको सपथ हुने बताइएको छ । स्रोतका अनुसार कांग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।

सम्बन्धित खबरहरु