Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेप्सेमा चमक : बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको सेयरमा सर्किट

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

नेप्सेमा चमक : बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको सेयरमा सर्किट

मुलुकको कुल गार्हस्थ  उत्पादनलाई सेयर बजारले पछाडि पारेको छ । मंगलबारको कारोबारपछि नेपालको सेयर बजारको कुल बजार पूँजीकरण ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुंगानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण संकटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो । उनले मंगलबार आयोजित एक भर्चुअल कार्यक्रममा उक्त जानकारी दिएका थिए । सोमबारको तुलनामा आज बजार पूँजीकरण मात्रै ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको हो । मुलुकको कुल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.४४ अंकले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च अंकमा पुगेको हो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला  कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ अंकले उकालो लागेर ५२८.१० मा पुगेको छ । नेप्सेका अनुसार कुल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता सेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूह मध्ये आज तीन उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बिमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३,जीवन बिमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ अंकले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब छ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । रसुवागडी हाइड्रोपावर ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित खबरहरु