Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सुदूरपश्चिममा ओली पक्षका ७ प्रदेश सभा सदस्यलाई सोधियो २४ घण्टे स्पष्टीकरण

न्युज कारोबार धनगढी जेठ २५, २०७८       

सुदूरपश्चिममा ओली पक्षका ७ प्रदेश सभा सदस्यलाई सोधियो २४ घण्टे स्पष्टीकरण एमाले संसदीय दलकाे बैठक । (फाइल तस्बिर)

नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका हुन् ।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो । भोलि २६ गते ५ बजेचित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत स्पष्टीकरण पत्रमा दिइएको छ ।

एमालेका अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्‍यो । तीन मन्त्रीले राजीनामा दिएलगत्तै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा प्रवेश गरेकाे छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठक मंगलबार बसेको थियो । बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राखेका थिए ।

सम्बन्धित खबरहरु