Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

मुख्यमन्त्री भट्ट झन् शक्तिशाली !

दिनेश बिष्ट धनगढी जेठ २५, २०७८       

मुख्यमन्त्री भट्ट झन् शक्तिशाली !

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यकाल सुरु गरेको सवा तीन वर्षपछि मंगलबार प्रदेश सभामा विश्वासको मत लिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्दा ३९ जना प्रदेशसभा सदस्यको साथ पाएका मुख्यमन्त्री भट्टले सवा तीन वर्षपछि ४२ जनाको समर्थन प्राप्त गरे ।

मुख्यमन्त्री भट्टको पक्षमा माओवादीका १३, एमालेको माधव नेपाल पक्षका १७ सांसदले मतदान गरे । नेपाली कांग्रेस पनि भट्टको विपक्षमा उभिएन । कांग्रेसमा सांसदहरु तटस्थ बसे । जसपाका २ र एमाले ओली समूहका ७ गरी ९ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरे । 

संघको राजनीतिले सुदूरपश्चिमको राजनीति पनि तरंगित बनिरहेका बेला सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि विश्वासको मत लिनुपर्ने आवाज उठिरहेको थियो । मुख्यतया एमाले स्थायी कमिटीले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिइसकेको पत्र संसद सचिवालयमा दर्ता गराइसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिनु परेको हो । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपूर्व सबै दलसँग र प्रदेशसभा बैठकमै पनि विश्वासको मत दिन आग्रह पनि गरेका थिए ।

माओवादी केन्द्र, एमाले, कांग्रेसले मुख्यमन्त्रीको आग्रहलाई खुलेरै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जनता समाजवादी पार्टी (जसपा) र ओली समूहका सांसदहरुले भने विरोध जनाएका थिए । मतदानमा मुख्यमन्त्री भट्टले माओवादीका १३ र एमाले नेपाल समूहका १७ मत प्राप्त गरे । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री भट्टले अबको दिनमा सबै दलको भावनालाई समेटेर थप सशक्त काम गर्ने बताए ।

उनले भने, ‘अस्थिरता चाहानेहरुका लागि सुदूरपश्चिमले लोकतन्त्रको सवल पक्ष के हो भन्ने देखाइसकेका छन् । लोकतन्त्र भनेको यही हो । जसरी मलाई सबै दलले विश्वासको मत दिनुभएको छ । अब सशक्त भएर काम गर्ने छु ।’ प्रदेश सभामा विश्वासको मत लिनुपर्ने अवस्था देखेर आफूले सबै दलसँग आग्रह गरेर विश्वासको मत पाएको उनले उल्लेख गरे । ‘सबै दलले विश्वास गर्नु नै मेरो काम चित्त बुझेरै त होला । अब सबैलाई समेटेर थप बलियो महसुस गर्दै काम गर्ने छु ।’

नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नआएमा मात्रै मतदान गर्ने आश्वासन दिएको थियो । तर विपक्षमा मतदान नगर्ने भनेपछि मात्रै प्रदेशसभाको बैठक सुरु भएको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने भएपछि मतदान नगरेरै कांग्रेसले मुख्यमन्त्रीलाई समर्थन जनायो । अन्य समय मुख्यमन्त्रीको विकल्प खोजिरहेको कांग्रेसले केन्द्रको राजनीतिक परिवेशले बाध्य भएर समर्थन जनाउनुपर्‍यो । 

संविधानको रक्षा गर्न मुख्यमन्त्रीलाई समर्थन

संविधानको रक्षा गर्न मुख्यमन्त्रीलाई समर्थन जनाएको तर प्रतिपक्षमै रहने कांग्रेसको दावी छ । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आफूहरु प्रतिपक्षी नै भएको बताए । उनले भने, ‘अहिलेको परिस्थिति सामना गर्नका लागि र संविधानको रक्षाका लागि हामीले तटस्थ बसेर मुख्यमन्त्री ज्युलाई सहयोग गरेका हौँ ।’

एमाले ओली पक्षले भने माओवादीको मुख्यमन्त्रीलाई समर्थन गर्ने एमाले सांसद अब स्वतन्त्र रहेको बताएको छ । पार्टीले बनाएका सांसदहरुले पार्टीकै निर्देशन नमान्नुले उनीहरु अब स्वतन्त्र सांसद रहेको ओली पक्षको दाबी छ । साथै कांग्रेस पनि प्रतिपक्षी नरहेको ओली समूहको तर्क छ ।

बर्खास्त गर्ने चेतावनी

ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले दलको निर्देशन नमान्ने सांसद पार्टीको सांसद पनि नरहने बताए । उनले भने, ‘एमालेका सबै सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन भएको थियो तर साथीहरुले कुर्सी बचाउन या मन्त्री पाउने दाउमा पार्टी निर्णयविरुद्ध जानुभयो । अब उहाँहरू स्वतन्त्र सांसद भइसक्नुभाछ ।’

सुदूरपश्चिम प्रदेशमा ५३ प्रदेशसभा सदस्यमध्ये माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहराको सांसद पद समाप्त भइसकेको छ । सभामुखसहित ५२ जना प्रदेशसभा सदस्यमध्ये २५ एमाले, १३ माओवादी, १२ कांग्रेस र २ जसपाका छन् । एमालेका २५ मध्ये ७ जना मात्रै ओली समूहमा छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले भने पार्टी निर्णयविरुद्ध मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई बर्खास्त गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित खबरहरु