Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कर्णालीमा मन्त्रिमण्डल विस्तार : मुख्यमन्त्री शाहीले तिरे कांग्रेसको गुन

न्युज कारोबार वीरेन्द्रनगर जेठ २३, २०७८       

कर्णालीमा मन्त्रिमण्डल विस्तार : मुख्यमन्त्री शाहीले तिरे कांग्रेसको गुन

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत लिन साथ दिएका कांग्रेसको गुन शाहीले तिरेका छन् । प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसलाई दुईवटा मन्त्रालय दिएर मुख्यमन्त्री शाहीले विश्वासको मतको गुन फर्काएका हुन् ।

कर्णाली प्रदेश सरकारमा गएका नेपाली कांग्रेसका दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गरेका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेसका दुई सांसदलाई शुक्रबार संसदीय दलले मन्त्रीका लागि सिफारिस गरेको थियो । सरकारमा जानकै लागि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको प्रमुख प्रतिपक्ष दल कांग्रेस सरकारमा गएको हो । बहुमतमा रहेको एमालेका केही नेताहरुले फ्रलोर क्रस र नेपाली कांग्रेसले समेत साथ दिए पछि मुख्यमन्त्री शाहीको पद जोखिएको थियो । फ्लोर क्रस गरेका एमालेबाट निर्वाचित सांसदहरुलाई समेत शाहीले मन्त्री पद दिएका छन् । नेकपा एमालेले फ्लोर क्रस गर्नेहरुलाई कारबाही गरे पनि शाहीले नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापालाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । २०७४ को निर्वाचनपछि कांग्रेस पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेको हो ।

सम्बन्धित खबरहरु