Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

उपेक्षालाई बिर्सेर सेवामा समर्पण

सीता वली वीरेन्द्रनगर जेठ २१, २०७८       

उपेक्षालाई बिर्सेर सेवामा समर्पण

सुर्खेतको वीरेन्द्रनगर- ११ स्थित चौखेढुंगा बालविकास केन्द्रकी बालशिक्षा शिक्षक इन्द्रा वली बीस वर्षदेखि सेवा गर्दै आएकी छन् । उनले २०५८ सालबाट महिनाको पाँचसय रुपैयाँ तलब लिएर सेवा सुरु गरेकी थिइन् । विभिन्न समयमा वृद्धि भएको उनको तलब अहिले दश हजार पुगेको छ । महिनामा पाँचसय रुपैयाँबाट सेवा सुरु गरेकी उनको २०६५ सालमा १ हजार ३ सय हुँदै १ हजार ८ सय, दुईहजार ३ सय , तीनहजार र ६ हजार रुपैयाँसम्म पुग्यो । २०७७ सालको साउनबाट स्थानीय तहले दिने थप चार हजारसहित अहिले उनले महिनामा दशहजार रुपैयाँ प्राप्त गर्छिन् ।

‘अन्य सेवा भए पेन्सन पाक्थ्यो । तर बीस वर्ष हुँदा पनि बल्ल-बल्ल महिनाको दशहजार रुपैयाँबाहेक अन्य कुनै सुविधा छैन,’ उनले भनिन् । सहयोगीसमेत नहुँदा निकै समस्या हुने उनले बताइन् । ‘घरमा भएको एउटा बच्चा त सम्हाल्न सकिँदैन । दर्जन बढी बच्चालाई सम्हालेर प्रारम्भिक शिक्षा दिनु कम गाह्रो छैन,’ उनले भनिन् । सरकारले बालशिक्षा शिक्षकहरुलाई वेवास्ता गर्दै नेपालको शिक्षा नै धरासयी बनाउन खोजेको उनको आरोप छ । शिक्षाको जग बसाल्ने शिक्षकहरुलाई नै वेवास्ता गरेर राज्यका नागरिक शिक्षित नहुने उनकोे तर्क छ ।

सामुदायिक बालविकास केन्द्र वीरेन्द्रनगर- ६ की बालशिक्षा शिक्षक लंका गिरीले समेत सरकारले बीसौ वर्षदेखि सेवा गर्दै आएका बालशिक्षा शिक्षकहरुलाई उधारो कुरा गरेर आन्दोलनबाट पछि हटाउन खोेजेको बताइन् । लामो समयदेखि क्षतिपूर्तिसहित प्राथमिक तहभन्दा माथिको सेवा सुविधा हुनुपर्ने, निवृत्तभरण दिनुपर्ने लगायतका मागहरु राखेर आफूहरु आन्दोलनमा रहेको उनले जानकारी दिइन् । देशभर नै सञ्जाल निर्माण गरी आन्दोलन गरे पनि माग पूरा नभएको उनले गुनासो गरिन् । बालशिक्षा शिक्षकहरु बिहान नौ देखि दिउँसो २ बजेसम्म निरन्तर सहयोगी बिना नै खट्नु पर्ने अवस्था भएको उनले सनुाइन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणामार्फत महिनाको पन्ध्रहजार रुपैयाँ प्राप्त गर्ने भने पनि स्थानीय तहले दिने चारहजार दिन सक्छन् वा सक्दैनन् भन्ने कुरामा विश्वास नभएको उनले बताइन् ।

उधारो पन्ध्रहजारको लोभ देखाएर नेपाल सरकारले आफूहरुको आन्दोलन तुहाउन खोजेको उनको आरोप छ । वीरेन्द्रनगर नगरपालिका बालशिक्षा शिक्षक सञ्जालकी संयोजकसमेत रहेकी लंकाले कुनै पनि हालतमा आन्दोलनबाट पछि नहट्ने बताइन् ।

२१ वर्षदेखि वीरेन्द्रनगर- १२ को हस्तविर आधारभूत बालविकास केन्द्रमा बालशिक्षा शिक्षकको रुपमा काम गर्दै आएकी निर्मला सुवेदीले पनि सरकारले ‘सौतेनी आमाको व्यवहार’ गरेको बताइन् । केन्द्र सरकार आफू पन्छिएर स्थानीय तहसँग उधारो सम्झौता गरेको उनले बताइन् । केन्द्रले नै १५ हजार दिएको भए विश्वास लाग्ने भए पनि स्थानीयले दिन्छ कि दिँदैन भन्ने कुरामा आफूहरु विश्वस्त नभएको उनले बताइन् । ‘सरकारले बालविकासको दरबन्दी कायम गर्नुपर्छ,’ उनले भनिन्, ‘यसरी कम पारिश्रमिक दिएर सरकारले धेरैको जिन्दगी बिगारेको छ ।’ उनले योग्यता आवश्यक भए पनि योग्यता बढाउन नसक्नेलाई हालसम्मको क्षतिपूर्तिसहित निवृत्तभरण दिनुपर्ने बताइन् । बालविकास आवश्यक नभए देशभरका ३७ हजार बालविकासलाई खारेज गरिदिनुपर्ने उनले बताइन् । पाँच वर्षको अवधिमा तालिम, गोष्ठी भ्रमण केही पनि नभएको भन्दै उनले स्थानीय तहले पैसा दिँदा समयको समेत टुंगो नभएको बताइन् ।

बालविकास शिक्षकहरुलाई राज्यले श्रमशोषण गरेको उनले बताइन् । ‘महँगी भत्ता खोई ? पाठ्यक्रममा दुई बजेसम्म पढाउने भने पनि विद्यालयहरुले ६ हजारमा चारबजेसम्म पढाउन लगाएको छ,’ उनले भनिन् । कर्णाली प्रदेशभर सरकारले महिलाहरुका लागि राम्रा कार्यक्रम ल्याएको बताउँदै आए पनि बालविकासका २७ सय महिला शोषित भएको बताइन् । प्रारम्भिक बालविकास सञ्जाल सुर्खेतकी अध्यक्षसमेत रहेकी निर्मला सुवेदीले प्रारम्भिक बालविकास दिग्दर्शन पाठ्यक्रम २०६२ मा समेत दुईबजेसम्म पढाउने भनिए पनि विद्यालयहरुले चार बजेसम्म पढाउन बाध्य बनाएको बताइन् ।

राज्यले शिक्षामा धेरै लगानी गरेको लगानी भए पनि शिक्षा क्षेत्रको जरामा भने लगानी गर्न नसकेको विद्यालयको प्रारम्भिक तहका काम गर्नेहरुको गुनासो छ । प्रारम्भिक बालविकासमा लगानी गर्न नसक्दा न्यून विद्यार्थी तथा शिक्षकहरुको तलब र अन्य सुविधासमेत न्यून छ । जसले गर्दा लामो समयदेखि बालविकासमा कार्यरत शिक्षकहरु असन्तुष्ट छन्, पटक-पटक आन्दोलित भइरहन्छन् । बालबालिकाको विद्यालय तहका सुरुवाती र महत्वपूर्ण तहमा काम गर्ने आफूहरुलाई राज्यले वेवास्ता र चरम उपेक्षा गरेको उनीहरुको गुनासो छ ।

सम्बन्धित खबरहरु