Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कर्णालीमा बजेट अधिवेशनको अन्योल : सरकारमाथि दबाब बढाउँदै दलहरु

सीता वली वीरेन्द्रनगर जेठ २१, २०७८       

कर्णालीमा बजेट अधिवेशनको अन्योल : सरकारमाथि दबाब बढाउँदै दलहरु

कर्णाली प्रदेशको सर्वदलीय बैठकले प्रदेश सरकारलाई आगामी आठौं अधिवेशन अविलम्ब आह्वान गर्न अनुरोध गरेको छ । वर्षे अधिवेशनको प्रि-बजेट छलफलसमेत नबोलाएको सरकारलाई अविलम्ब अधिवेशन बोलाउन बिहीबार बसेको सर्वदलीय बैठकले अनुरोध गरेको हो ।

नागरिकका लागि बजेट ल्याउनेजस्तो संवेदनशील कुरामा सरकार भाग्न खोजेको भन्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सर्वदलीय बैठक बसी बैठक बोलाउने व्यवस्था गर्न आग्रह गरेको बताए । सरकारले बजेट अधिवेशन गर्न नसकेको भन्दै नेकपा एमालेले विज्ञप्तिसमेत निकालेको थियो । नेता कँडेलले संवैधानिक व्यवस्था मिच्ने कसैलाई अधिकार नभएको तर्क गरे । बजेट तथा कार्यक्रम ल्याउने कुरा केही संविधानमा उल्लेख, केही संसदीय अभ्यास र केही चलनचल्तीका कुरा भएकाले सरकारले यसको परिपालना गर्नुपर्ने उनको भनाइ छ । आफूहरुले हिउँदे अधिवेशन रोकेको विषयमा बोल्दै सांसद कँडेलले के हिउँदे अधिवेशन अन्त्य नगरी उहाँहरुले वर्षे अधिवेशन गर्नुहुन्थ्यो र ?

सामान्य अवस्थामा सदन रोकेर कोरोना महामारीसँग सरकार निसंकोच लडोस् भन्ने हेतुले नै आफूहरुले हिउँदे अधिवेशन रोक्न भनेको उनले प्रष्टीकरण दिए । बजेट जस्तो गम्भिर र जनताको लागि महत्वपूर्ण विषयमा कसैलाई आरोप लगाएर सदन नै नबोलाउने परिपाटी ठीक नभएको उनले बताए । गएको तीनवटा बजेटमा सरकार फेल भएकाले अहिलेको बजेटबाट समेत सरकार भाग्न खोजेको उनको आरोप छ । 

समयमै बजेट अधिवेशन बोलाउन नसक्दा कर्णाली प्रदेश सरकारमाथि दबाब बढ्दै गएको छ । असार १ गते विनियोजन विधेयकसहित प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था रहेको छ । असार १ गते विनियोजन विधेयक तथा बजेट ल्याएको ठिक पन्ध्र दिनअघि बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा सदनमा छलफल गर्नुपर्छ । जसलाई प्रि-बजेट भनिन्छ । तर कर्णाली प्रदेश सरकारले जेठको तेस्रो हप्ता लागिसक्दासमेत प्रि-बजेट ल्याउने सुरसार गरेको छैन । नत यस विषयमा सरकार नै गम्भिर बनेको छ । कोरोना भाइरस (कोभिड- १९)को बहाना बनाउँदै सरकार प्रि-बजेटबाट पञ्छिएको दलहरुको आरोप छ । सरकारले प्रि-बजेट नल्याउँदा आगामी आर्थिक वर्षको लागि कस्तो बजेट आउँछ ? भन्ने विषयमा नागरिकहरु अन्योलमा परेका छन् ।

यस विषयमा कर्णाली प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले कोेरोना भाइरसको संक्रमणको अवस्थालाई हेरेर बजेटको तयारी गर्ने जानकारी दिइन् । ‘अहिले निषेधाज्ञा नै छ । यस्तो महामारीमा कसरी बजेटको तयारी गर्ने ?’ उनले समस्या सुनाइन् । उनले केही सांसदहरु समेत कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना भएको बताउँदै अन्य बहानाबाजी केही नरहेको तर्क गरिन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिउँदे अधिवेशन चलिरहेको समयमा कोभिडलाई बहाना बनाई सदन रोक्न भनेपछि सरकारले सूचना जारी गरी सदन रोकेको उनले जानकारी दिइन् । ‘पहिले कोरोनाको महामारीमा सदन चल्नुहुँदैन उहाँहरुले नै भन्नुभयो । अहिले फेरी सदन चलेन भनेर विज्ञप्ति निकाल्ने ?’ उनले प्रश्न गरिन् । जनताका लागि ल्याइने बजेट सदनबाटै ल्याउने तयारी सरकारले गरेको उनले बताइन् । कर्णाली प्रदेश कोरोना भाइरसको बढी जोखिममा रहेकाले तत्काल सदन बोलाउन सम्भव नभएको उनले बताइन् । 

नेपाली कांग्रेसका संसदीय दलका नेता सांसद जिवनबहादुर शाहीले भने यस विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरेर सरकार अगाडि बढ्नुपर्ने तर्क गरे । ‘चलिरहेको सदन एमालेले कोरोना फैलियो भन्दै रोक्यो । त्यसो भए अहिले पनि त कोरोनाको संक्रमण नियन्त्रणमा आएको छैन,’ उनले भने । आफूले बोलेको कुरामा प्रतिपक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘सदन रोकिनु हुँदैन’ भन्ने पक्षमा आफू पनि रहेको बताउँदै सांसद शाहीले सरकार, प्रमुख प्रतिपक्ष सबै बसेर यस विषयमा छलफल गर्नुपर्ने धारणा राखे । प्रमुख प्रतिपक्षले पहिले सरकार तर्साइदिएको उनले सुनाए । ‘संघीय सरकारले अध्यादेशबाट बजेट ल्याउँदा बासना आउने र प्रदेशले ल्याउँदा गन्हाउने हुन्छ र ?’ उनले प्रश्न गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद शोसीला शाहीले जनताका लागि ल्याइने बजेटका विषयमा छलफल हुनुपर्ने तर्क गरिन् । ‘अघिल्ला वर्षहरुमा बजेटका विषयमा छलफल भएकै हुन्थे,’ उनले भनिन्, ‘अहिले सरकारले किन ढिला गरेको छ ? कोरोना भाइरसको संक्रमण भए पनि बजेटका विषयमा समेत सरकार गम्भिर हुनुपर्छ ।’

कर्णाली प्रदेश सरकारले प्रि-बजेट ल्याउने समय कानुनतः घर्किसकेको छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने कुराको संकेत कर्णाली प्रदेश सभाका एकजना सांसदले गरेका छन् । उनले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउने सरकारले तयारी गरेको जानकारी दिएका हुन् ।

सम्बन्धित खबरहरु