Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

फेरि लर्को भारततिरै, चासो भारतको निषेधाज्ञामा

दिनेश बिष्ट धनगढी जेठ १९, २०७८       

फेरि लर्को भारततिरै, चासो भारतको निषेधाज्ञामा भारत हिँडेकाहरू गाैरीफन्टा नाकामा ।

कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाबाट रोजगारीको लागि भारत जानेहरूको संख्या बढ्न थालेको छ । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसायलगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेको भए पनि काम पाइने आशले त्यहाँ जानेको संख्या बढ्न थालेको हो ।

यहाँको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ४ सयको हाराहारीमा नेपालीहरू भारततिर गइरहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार यी दुई नाका भएर पछिल्लो एक सातामा ३ हजार ४ सयभन्दा बढी नेपालीहरू भारततर्फ गएका हुन् । उनीहरुलाई नेपालमा जारी निषेधाज्ञाको खासै महत्व छैन । महत्व छ त भारतमा निषेधाज्ञा के कस्तो छ ? र कहिले, कुन-कुन क्षेत्र खुला हुन्छ ? यही समाचार र चासोमा डोहोरिएर भारत पस्नेको लर्को नाकाहरूमा फेरि एकाएक बढेको छ ।

झण्डै दुई महिनाअघि भारतमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी गरिएसँगै नेपाल फर्किएका नेपालीहरू अहिले स्वदेशमा खाना-लाउनको समस्या हुन थालेपछि धमाधम भारत फर्किरहेका छन् । तीमध्ये कतिपय भने भारतमा साहुले बोलाएर फर्किरहेका छन् भने कोही नेपाली ‘केही न केही काम गरेर जीविकोपार्जन गरौँला’ भन्ने आशा बोकी भारत पलायन भइरहेका छन् ।

यद्यपि भारतमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी आएको देखिएको छ । योसँगै दिल्ली सरकारले सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गर्ने बताएका छ । तर नेपालीहरू रोजगारीका लागि जाने भारतका अन्य राज्यहरूमा भने निषेधाज्ञा अझै जारी नै छ । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतका अधिकांश राज्यमा अझै कोरोनाको जोखिम कम नभएको बताए । ‘दिल्लीमा सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गरिने भए पनि अन्य राज्यहरूमा निषेधाज्ञा अझै जारी नै छ,’ उनले भने, ‘कलकारखाना, होटल व्यवसाय र निर्माण कार्यलगायत रोजगारीका अवसरहरू अझै बन्द नै छन् । नेपालीहरूको अलपत्र पर्ने जोखिम अझै टरेको छैन ।’

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले आक्रान्त पारेको भारतमा स्थिति अझै सामान्य भइसकेको छैन । यो अवस्थामा यात्रा गर्नु जोखिमपूर्ण हुने खड्काको भनाइ छ । उनले कोरोना महामारी केही कम भएपछि मात्र भारत फर्किन नेपालीहरूलाई आग्रहसमेत गरेका छन् ।

कोरोना महामारीका कारण एकातिर रोगको त्रास छ भने अर्कोतिर भोकको चिन्ता छ । त्यसैले जोखिम मोलेरै भए पनि पेट र परिवार पाल्नका लागि भारत जानुपर्ने बाध्यता रहेका रोजगारीका लागि भारततिर गइरहेकाको भनाइ छ ।

सम्बन्धित खबरहरु