Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सुदूरपश्चिममा एमाले विवाद : ओलीलाई ठाडाे चुनाैती दिँदै नेपाल समूह

दिनेश बिष्ट धनगढी जेठ १७, २०७८       

सुदूरपश्चिममा एमाले विवाद : ओलीलाई ठाडाे चुनाैती दिँदै नेपाल समूह पछिल्लाेपटक थपिएका मन्त्रीहरू सपथ लिँदै ।

आन्तरिक विवादका कारण नेकपा एमाले विभाजन नै हुने अवस्थामा पुगिरहेका बेला यसको प्रभाव प्रदेश सरकार, संसदीय दल र पार्टीको प्रदेश समितिमा पनि परेको छ । सम्भवतः पछिल्लो समयमा यस्तो प्रभाव सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ ।

एमाले स्थायी समिति बैठकले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्णय गर्दै र मन्त्रिमण्डलबाट सबै तीन जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना त भएन नै, उल्टै नेकपाको सुदूरपश्चिम संसदीय दलले गत शुक्रबार सोही सरकारमा ४ मन्त्री र ३ राज्यमन्त्री थपेपछि विवाद थप रोचक बनेको छ । शुक्रबार नै सबै मन्त्रीले सपथ लिइसके । सांसदहरुलाई अर्को समूहमा जानबाट रोक्न ३ जनालाई राज्यमन्त्री नै बनाइएको छ । 

एमाले स्थायी समितिले दिएको निर्देशन नमानेको भन्दै तत्कालीन मन्त्री माया भट्ट, कृष्ण सुवेदी र संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई कारबाही गर्न एमाले प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरिसकेको छ । पार्टीले कारबाही गर्दा-गर्दै पनि फेरि थपिएका मन्त्रीहरुलाई पनि पार्टी प्रदेश कमिटिले स्पष्टीकरण सोधेको थियो । एमालेको माधव नेपाल पक्षामा रहेका सांसदहरुले आफ्नो समूहबाट मन्त्री बनाए भने अध्यक्ष ओलीनिकट रहेकाहरुले त्यसको विरोध जनाए । पार्टीको निर्देशनअनुसार सरकारबाट बाहिरिनु पर्नेमा झन् मन्त्री थपेको भन्दै कारबाहीको प्रक्रियामा जानुपर्ने नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुको माग गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य दीपक देवकोटा सुदूरपश्चिम संसदीय दलले पार्टीको निर्णयविरुद्ध कार्य गरेकाले कारबाहीको भागिदार बन्ने दावी गर्छन् । ‘हामीले एमालेलाई एक ढिक्का बनाएर आफ्नै नेतृत्वमा सरकार बनाउने गरी सरकारबाट फिर्ता भएर समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थियौँ । एमालेको चुनाव चिह्न लिएर उहाँहरु निर्वाचित हुनुभएको हो । अहिले त्यही पार्टीले गरेको निर्णयविरुद्ध कदम चालेपछि कारबाही त पक्कै हुन्छ,’ उनले भने । पार्टी एक ढिक्का बनाउने प्रयास भइरहको बेला पार्टी निर्णयविपरीत कार्य गर्नेलाई साधारण सदस्य र सांसद पदसमेत नरहने गरी कारबाही हुने उनले बताए । ‘केही साथीहरु क्षणिक समय मन्त्री खानका लागि पार्टीको निर्णयविरुद्ध जानुभयो । उहाँहरुले अब अन्तिमपटक केही दिनलाई भए पनि मन्त्री पद खाउँ भन्ने सोच्नुभयो होला । तर, अब पार्टीले कारबाही अगाडि बढाउँछ,’ उनले भने ।

पार्टीलाई विभाजन गर्ने काम माधव नेपाल समूहबाट भएको देवकोटाको आरोप छ । ‘दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेपछि मोर्चा नै बनाएर अध्यक्षलाई सिध्याउने खेल किन खेल्नुपथ्र्यो ?’ उनले भने, ‘प्रचण्डको सहारा लिएर माधव कमरेड र भीम रावल कमरेड ओलीको पछि हात धोएर लाग्नुभयो । अहिले उहाँहरुलाई पुरानै पद चाहिने । पदविना उहाँहरु बस्न सक्नुहुन्न भने गए भयो नि ।’ चोइटिएर जानेहरुको औकात देखेको बताउँदै उनले भने, ‘सुदूरपश्चिममा रावल कमरेडको दबदबा नै हो । त्यस कारण उहाँले आफ्ना मान्छे मात्रै ल्याउनुभयो र सबै ठाउँ हेर्दै जानुस् । बिस्तारै हामी बलियो बन्दैछौँ ।’ अबको चुनावमा पार्टी फुटको घाटा लाग्नेजस्तो भए पनि एमाले ठूलो शक्ति भएर उदाउने उनले दाबी गरे ।

तत्कालीन एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला रहेको सुदूरपश्चिममा उनकै वर्चस्व छ । तर पछिल्लो समय उनले आफ्नै टिमसमेत मिलाउन नसक्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहमा जानेको संख्या पनि बढ्दै गएको छ । माओवादी र रावल समूहले ११ सदस्यीय मन्त्रिमण्डलसहित बलियो उपस्थिति देखाइरहँदा ओली समूहले सबैलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर रावलनिकट नेतााहरुले भने यस्तो अवस्थामा सरकारबाट बाहिरिएर केन्द्रजस्तै अस्थिरता निम्त्याउनुभन्दा जनताका लागि काम गर्न सरकारलाई झन बलियो बनाएको दावी गरिरहेका छन् । 

एमाले सुदूरपश्चिम प्रदेशसभा सचेतक दुर्गा विकले त्यो कारबाही अवैधानिक भएको बताइन् । ‘२०७५ जेठ २ मा फर्किदा पो एमाले रह्यो,’ उनले भनिन्, ‘आफ्नो मनलाग्दी तरिकाले केन्द्रीय कमिटी, प्रदेश कमिटी बनाएर कारबाही हुन्छ र भन्या ? कारबाही गर्ने कमिटी वैधानिक हुनुपर्‍यो नि पहिला त ।’ आफूहरु त्यो कारबाही मान्न तयार नरहेको उनले बताइन् । भनिन्, ‘त्यो उहाँहरुको अहमता हो । सबैलाई थाहा छ, २१ जना एमालेका प्रदेशसभा सदस्यले यही सरकारलाई निरन्तरता दिने र मन्त्री थप्ने भन्ने दलको निर्णयमा सहमति जनाउनुभएको हो । त्यतिबेला सहमति जनाउने अनि अहिले विरोध जनाएर हुन्छ ?’

एमाले एक्लै र जसपासँग मिलेर पनि सरकार बन्न नसक्ने अवस्थामा अन्य दलसँग मिलेर नयाँ सरकार बनाउन पनि कठिन नै हुने सचेतक विकको तर्क छ । सोही कारण राजनीतिक अस्थिरता सिर्जंना हुने सम्भावना देखेर पनि हामीले अहिलेकै सरकारलाई निरन्तरता दिएको उनले तर्क गरिन् । ‘उहाँहरुले हचुवाका भरमा कारबाही गर्छौं भन्दै सिफारिस गरेर कारबाही हुन्छ त ?’ उनले भनिन्, ‘सांसद पद नै जानका लागि पार्टीले कारबाही गर्दा त संसदीय दलले प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्छ तर हाम्रो संसदीय दलले त यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।’

शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिएर सुदूरपश्चिमको मन्त्रिमण्डललाई पूर्णता दिइएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला मन्त्रीमा प्रकाश शाह, सामाजिक बिकास मन्त्रीमा लाल बहादुर खड्का र उद्योग, वन तथा वातावरणमन्त्रीमा मान बहादुर धामीलाई नियुक्त गरिएको छ । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एमालेकी चुनकुमारी चौधरी, सामाजिक विकास र आर्थिक मामिला राज्यमन्त्रीमा एमालेकै मना कुमारी साउँद र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा माओवादीका मान बहादुर सुनारलाई नियुक्त भएका हुन् । 

तामाङले मन्त्री पद खाएनन्

एमालेका प्रमुख सचेतकसमेत रहेका कञ्चनपुरको क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित तारालामा तामाङ मन्त्रीका लागि पहिलो लाइनमा थिए । तामाङलाई मन्त्री दिनकै लागि प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तामाङलाई हटाएका थिए । उनलाई मन्त्रीको सपथ खुवाउनका लागि प्रदेश प्रमुखकै कार्यालयमा पनि नेताहरुले धेरै कुरे तामाङ नआएपछि अर्को सांसदलाई बोलाएर मन्त्री बनाइएको एमाले नेताहरुले बताएका छन् । पार्टीको निर्देशनविपरीत गएर मन्त्री बन्न नसकिने भन्दै उनले अडान राखेको बताइएको छ । उनले भने, ‘मलाई मन्त्रीका लागि अफर गरिएको थियो । तर मन्त्री बन्न मन लागेन ।’ माधव नेपाल समूहमा रहेका तामाङ पछिल्लो समय पार्टी मूलधारमा लागेको चर्चा भइरहेको छ । तर उनले अहिले केही भन्न नमिल्ने बताए । एमाले ओली समूहका नेताहरुले भने तामाङसहित १० जनाभन्दा बढी आफूतिर आइसकेको दावी गरेका छन् । 

माओवादीमा पनि विवाद

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको विषयमा प्रदेश पार्टीसँग कुनै छलफल नगरेको भन्दै माओवादी केन्द्रका नेताहरुले पनि असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश कमिटीसँग कुनै समन्वय नै नगरी केन्द्रबाटै प्रदेश सरकार पुनर्गठन गरेकोप्रति उनीहरुको गुनासो छ । माओवादी केन्द्रका सुदूरपश्चिम सह-संयोजक खगराज भट्टले विधि पद्धतिको नौटंकी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सुदूरपश्चिमको पार्टी नेतृत्वलाई ‘जोकर’ बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना एवं भावनालाई लत्याएर मन्त्रिमण्डल बिस्तार गरेको भन्दै नेता भट्टले असन्तुष्टि व्यक्त गरे ।

सम्बन्धित खबरहरु