Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

स-परिवार संक्रमित हुनेहरूको गुनासो- सरकार त बिर्सेकै थियो, आफन्तहरू पनि बिर्सिए 

दिनेश बिष्ट कैलाली जेठ १४, २०७८       

स-परिवार संक्रमित हुनेहरूको गुनासो- सरकार त बिर्सेकै थियो, आफन्तहरू पनि बिर्सिए 

कैलालीको धनगढी उपमहानगरपालिका–२ की ८२ वर्षीया सरस्वती देवी रावत (नाम परिवर्तन) मा १५ दिनअघि कोरोना भाइरस संक्रमण पोजेटिभ देखियो । लगातार खोकी लाग्ने समस्या भएपछि उनले कोरोना परीक्षणका लागि अस्पतालमा स्वाब दिइन् । ६ जना सदस्य रहेको सो परिवारमा उनी जेष्ठ सदस्य थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि घरका अन्य सदस्यहरूले पनि कोरोना परीक्षण गराए । तीमध्ये उनको ५५ वर्षीय छोरा विकास (नाम परिवर्तन) र ५२ वर्षीया बुहारी लता (नाम परिवर्तन) मा कोरोना संक्रमण पुष्टि भयो । उनका ३० वर्षका नाती र २९–२६ वर्षीया नातिनीमा भने संक्रमण देखिएन । 

८२ वर्षीया ती बृद्धा र उनका छोरामा लक्षण सहितको कोरोना संक्रमण देखिएको थियो भने बुहारीको अवस्था सामान्य थियो । उनीहरू तीनै जना दुई दिनको होम आइसोलेसन बसे । छोराको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उनलाई अस्पताल लगियो । केही निजी अस्पतालमा धाएर उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो । उनको स्वास्थ्य अवस्था बिग्रिदै गयो । स्वास फेर्न गाह्रो भएर अक्सिजनको आवश्यकता प¥यो । त्यसपछि अक्सिजनसहितको उपचार सघनमा राखियो । तर, अक्सिजन आपूर्ति नियमित हुन सकेन । अवस्था झन् जटिल भएपछि भेन्टिलेटरमा राखियोे ।

छोराको भेन्टिलेटरमा उपचार भइरहँदा संक्रमित आमाले संसार छाडिन् । नौ दिनदेखि होम आइसोलेसनमा रहेकी ८२ वर्षीया आमाले अन्तिम अवस्थामा पनि छोराको मुख हेर्न पाइनन् । उनको दाहसंस्कार पनि समयमा हुन पाएन । होम आइसोलेसनमै रहेको बृद्धा आमाको शव २४ घण्टापछि मात्रै उठ्यो । प्रहरी र नेपाली सेनाबीच मुचुल्का बनाउने विषयमा सहमति नहुँदा बृद्धाको शव अर्को दिन मात्रै उठ्यो ।

अहिले विकासको स्वास्थ्य अवस्थामा केही सुधार भएको छ । उनका छोरा आयुष (नाम परिवर्तन) ले भने, ‘बुवाले त बज्यैको अन्तिम अवस्थामा मुख पनि हेर्न पाउनु भएन । बल्ल बुवाको अवस्थामा सुधार भएको छ ।’ घरमा सबै जना संक्रमित भएपछिको दुई साता उनको परिवारमा  निकै सकसपूर्ण रहेको आयुषले बताए । ‘हामीले यस्तो पनि अवस्था आउला भनेर कल्पनासमेत गरेका थिएनौं,’ उनले भने, ‘बज्यै र बुवाआमालाई कोरोना संक्रमण भयो । बज्यैको ज्यानै गयो । भगवानको कृपाले बुवाको अवस्था सुधारोन्मुख छ ।’

*********

गोदावरी नगरपालिका–२ का ४७ वर्षीय बलबहादुर (नाम परिवर्तन) लाई गत वैशाखको दोस्रो साता कोरोना देखियो । कस्मेटिक पसल सञ्चालन गर्दै आएका बलबहादुर निषेधाज्ञामा घरमै थिए । एक्कासी टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि उनले परीक्षणका लागि स्वाब दिए । तीन दिनपछि उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनी होम आइसोलेसनमा बसे ।

बलबहादुर संक्रमित भएपछि परिवारका अन्य सदस्यले पनि परीक्षण गराए । ३८ वर्षीया श्रीमती र १५, १३ वर्ष छोराहरुको रिपोर्ट पनि पोजेटिभ आयो । परिवारका सबै सदस्य एकै पटक संक्रमित भएपछि निकै सास्ती भोग्नुपरेको उनले बताए । ‘हामीलाई कोरोना भएको थाहा पाएपछि छिमेकीहरू पनि टाँढिए,’ बलबहादुरले भने, ‘छिमेकीहरु न सान्त्वना दिन आए, न सहयोग नै ।’ बलबहादुरमात्रै संक्रमित हुँदा श्रीमती र छोराहरुले स्याहार गर्थे । ‘अहिले सबै संक्रमित भएपछि कसले–कसको स्याहार गर्ने ?’ उनले भने, ‘अलि कम लक्षण देखिएका छोराहरूलाई खाना पकाउन आउँदैन । अरु आउने कोही छैन । श्रीमतीले सकी नसकी खाना खुवाइरहेकी छिन् ।’

गम्भीर समस्या हुँदा पनि आफन्त तथा सरकारी निकायले चासो नदेखाएको उनले गुनासो गरे । दुई हप्तापछि केही सुधार भइरहेको उनले बताए । स्वास्थ्यमा जटिल समस्या नभएको हुँदा कष्ट भए पनि केही सहज भएको बलबहादुरकी श्रीमती कलावतीले बताइन् । उनले भनिन्, ‘स्वास्थ्यमा जटिल समस्या भएर अक्सिजन दिनुपरेमा कस्तो हुन्थ्यो होला, सोच्न पनि सक्दिनँ । भगवानले दया गरे । आफन्तहरु पनि नजर पनि लगाएन ।’

*********

धनगढी उपमहानगरपालिका–४ का ३० वर्षीय करनको परिवारमा ६ जनाको परिवार छ । सबैको परीक्षण गर्दा एक जनाको मात्रै नेगेटिभ आयो । बाँकी पाँच जना संक्रमित छन् । करन गाडी चालक हुन् । परिवारमा उनी मात्र कोरोनाबाट जोगिएका छन् । परिवार सबैको हेरचाह गर्ने जिम्मेवारी उनकै काँधमा आएको छ । खाना पकाउने, तातोपानी, गुर्जोपानी, औषधीमुलोको व्यवस्था गर्नमै करनको दैनिकी बितेको छ ।

उनका ५६ वर्षका बुबा, ५२ वर्षीया आमा, २७ वर्षीया श्रीमती, २७ वर्षीया भाई बुहारी र १३ वर्षीया छोरी कोरोनासँगको लडाइमा छन् । करनले सबै जनालाई छुट्टा छुट्टै कोठामा सुत्ने व्यवस्था गरेका छन् । ‘अहिलेसम्म सबैलाई होम आइसोलेसनमै राखेको छु । अस्पताल भर्ना गर्नुपर्ने खालको समस्या छैन ।’ उनले भने, ‘लकडाउन हुनुअघि नै चामल दाललगायत आवश्यक सामग्रीको व्यवस्था गरेकोले सहज भएको छ । दैनिक उपभोग्य वस्तुका लागि स्वास्थ्य सामाग्री प्रयोग गरेर बजार गइरहेको छु ।’

करनको परिवारमा मात्रै होइन, उनको टोलमा धेरै संक्रमित छन् । टोलमा धेरै संक्रमित भएकोले छिमेकीहरूले राम्रै व्यवहार गरिरहेको उनले बताए । करनका बुवा अशोक (नाम परिवर्तन) ले भने, ‘अरु बेला पनि बिरामी भइयो । तर, यो कोरोना भन्नेले त शरीरलाई मात्रै होइन, दिमागलाई पनि खायो । सबैबाट सम्मान पाउनेले पनि बहिष्कृत हुनुप¥यो ।’

*********

विकास र करनको जस्तै पीडा धनगढी उपमहानगरपालिका–५ का ३२ वर्षीय प्रविण शर्मा (नाम परिवर्तन) को परिवारले भोग्नुप-यो । प्रविणसहित ३० वर्षीया श्रीमती, चार वर्षकी छोरी र सात महिने छोरा कोरोना संक्रमित भएका छन् । वैशाखको दोस्रो साता रुघाखोकी तथा उच्च ज्वरो आएपछि प्रविणले पीसीआर परीक्षण  गराए । परीक्षणपश्चात् कोरोना पोजेटिभ देखियो । स्वास्थ्यमा धेरै समस्या नभएपछि प्रविणको परिवार होम आइसोलेसनमा बस्यो ।

प्रविण धनगढीको एक क्याम्पसमा  अध्यापन गर्छन् भने उनकी श्रीमती एउटा गैरसरकारी संस्थामा काम गर्छिन् । ‘कोरोना संक्रमण भएको सुरुका सात दिन त निकै अप्ठेरो भयो,’ उनले भने, ‘एक सातासम्म ज्वरो र खोकीले सतायो । त्यसपछिका दिनमा क्रमिक रुपमा स्वास्थ्यमा सुधार आइरहेको छ ।’ होम आइसोलेसनमा बस्दा प्रविणको परिवारले निकै मानसिक तनाव बेहोर्नुप¥यो । छिमेकीले कोरोना भएको भन्दै घर नजिकै पनि आउन दिइएन । चामल, दाल, तरकारी बजारबाट ल्याउन पनि समस्या भयो । ‘एक जना गाउँले भाइमार्फत तरकारी र खाद्यान्न मगाउनु प-यो,’ प्रविण सम्झन्छन् । 

*********

धनगढी उपमहानगरपालिका–३ का किरण कुँवर (नाम परिवर्तन) र उनकी श्रीमती शोभालाई १५ दिनअघि कोरोना पोजेटिभ देखियो । उनको सात जनाको परिवार छ । उनको छिमेकीमा केही जनालाई कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका सबै सदस्यले कोरोना परीक्षण गराए । सबैको रिपोर्ट नेगेटिभ आयो । कोरोना पोजेटिभपछि किरण र उनकी श्रीमती होम आइसोलेसनमा बसे । कोरोना नेगेटिभ आएको ४ दिनपछि किरणका बुवालाई खोकी र ज्वरो आयो ।

पछि शरीरमा अक्सिजनको कमी देखिन थाल्यो । किरणकी आमा र बहिनीले बुवालाई धनगढीको एउटा निजी अस्पतालमा भर्ना गरे । बल्ल तल्ल अक्सिजनको जोहो भयो । अर्कोदिन अक्सिजन सकियो । अक्सिजन अभावकै बीच किरणका बुवाले अन्तिम सास लिए । 

बुवाको मृत्युपछि दाहसंस्कारसम्म बेहोर्नुपरेको कष्टको किरणले यसरी वर्णन गरे- बुबाको मृत्यु भएपछि अस्पतालमा शव कुर्ने मान्छे पाएनौं । नत घरसम्म शव लैजान सवारी साधन नै पायौं ।बल्लतल्ल एउटा अटोरिक्सामा राति शव घर पु-यायौं । भोलिपल्ट दाहसंस्कारका लागि कोही पनि आएनन् । निकै हारगुहार गरेपछि बल्ल चार जना आफन्त आउनुभयो । त्यसपछि बुबाको अन्तिम दाहसंस्कार ग-यौं ।

किरणकी आमा भन्छिन्, ‘जीवनमा पहिलो पटक एक्लै भएको अनुभव ग¥यौं । नत छोराले बुवाको शवमा दागबत्ती नै दिन पायो, न श्रीमानले दाहसंस्कारका लागि आफन्त नै पाए । दाइको अन्त्येष्ठिमा उनको नजिकको भाई नाता पर्ने परिवार समेत गएन । दाईकोे अन्त्येष्ठिमा किन जानु भएन भन्ने प्रश्नमा उनले भने, ‘पुरै परिवार कोरोनाले ग्रस्त छ । यो महामारीमा कोही पनि नजिक वा पराई हुँदैनन् । आफू बाँच्ने हो, सकेसम्म पहिले त आफ्नो तथा परिवारका लागि सोच्नु प-यो ।’ 

कोरोनाको दोस्रो भेरिएन्ट फैलिएपछि कैलालीमा पनि संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । पहिलो लहरको तुलनामा दोस्रो लहरमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या पनि निकै दिन प्रतिदिन बढ्दै गएको छ । यो पटक समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिइरहेको छ ।  कैलालीमा कोरोना संक्रमण तीव्र गतिमा फैलिए पनि रोकथामका लागि कुनै निकायले पनि ठोस उपाय अपनाएको छैन । स्थानीयहरु स्वयं पनि सचेत देखिएका छैनन् ।

परिवारका धेरै सदस्य संक्रमित हुँदासमेत ‘पर्नेलाई मात्र थाहा हुन्छ’ भने जस्तै भएको छ । संक्रमित हुनेहरु शारिरीक तथा  मानसिक पीडा भोगिरहेका छन् भने सुरक्षित देखिएकाहरुले लापरबाही गर्न छोडेका छैनन् ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कोरोना संक्रमित भएका बिरामीहरूको औषधी उपचार, अक्सिजन आदिका लागि दिनहुँ दर्जनौं फोन आउने गरेको बताए । उनले भने, ‘हरेक दिन अक्सिजन, औषधी, उपचार, दाहसंस्कारमा सहयोग गरिदिन थुप्रै व्यक्तिको फोन आउँछन् । सबैका समस्या त पूरा गर्न त सकिँदैन, सकेजति सहयोग गर्ने प्रयास गरिहेका छौं ।’ उनले एकै परिवारमा एकभन्दा बढी सदस्य कोरोना संक्रमित भएको बारे आफूलाई जानकारी नआएको बताए । उनले भने, ‘हामी कोरोना प्रभावितहरूको उपचारका लागि प्रयास गरिरहेका छौं । कोही कसैको खानपिनमा समस्या भएको छ भने सहयोग गर्ने लगायतका काम गरिरहेका छौं ।’ विकास, प्रविण, करणको परिवारको बारेमा भने आफूलाई जानकारी नआएको नगरप्रमुख वडले बताए ।

गोदावरी नगरप्रमुख हरिसिंह साउँदले पनि पूरै परिवार कोरोना संक्रमित भएको आफूलाई जानकारी नभएको बताए । पूरै परिवारलाई खाद्यान्न तथा औषधी उपचारमा समस्या भएकाहरूको सहयोगका लागि स्वयंसेवक परिचालन गरिरहेका छौं । उनले भने, ‘परिवारका सदस्य संक्रमित भएर समस्या भएको कुनै सूचना अहिलेसम्म आएको छैन । हामीले यस्तै समस्या भएकाहरूको सहयोगका लागि र कोभिड नियन्त्रणका लागि भनेरै स्वयंसेवक पनि खटाएका छौं ।’

सम्बन्धित खबरहरु