Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कोरोना, दुई डोज खोप र मेरो अनुभव

गोपाल घिमिरे काठमाडौं जेठ ११, २०७८       

कोरोना, दुई डोज खोप र मेरो अनुभव

कोरोना, जसले संसारमा युद्ध छेडेको छ । अन्त्य कहिले हुने हो, थाहा छैन । हामीे सोच्थ्यौं, नेपालमा त यस्तो भाइरस आइपुग्दैन । सोच्नु स्वाभाविकै पनि थियो किनकि पहिले-पहिले विश्वमा देखापरेका यस्ता भाइरसले हामीलाई खासै प्रभावित पारेको थिएन पनि । कोरोना त्यस्तो निस्केन । फलस्वरुप अमेरिकालगायत विश्वका विकसित देशमा यसले तवाही मच्चाउन थाल्यो । त्यसको असर भारत हुँदै नेपालमा पनि आयो । कोरोनाबाट बच्ने भनूँ या सर्न नदिने सबैभन्दा उत्तम विकल्प लागि विज्ञहरुले सिफारिस गरे- ‘लकडाउन’ । सबैको सुझाव नै यही थियो । विश्व नै लकडाउन भयो भन्दा फरक नपर्ला । हाम्रो देश पनि लकडाउन भयो । हामी सबै सचेत भयौँ । कोरोनाको पहिलो लहरमा हामीलाई त्यति ठूलो मानवीय क्षति भएन तर आर्थिक रुपमा धेरै ठूलो नोक्सान झेल्नुपरिरहेको थियो र छ पनि ।

कोरोना हटिसकेको थिएन तर हाम्रो देशको राजनीति यस्तो अवस्थामा पुगिसकेको थियो कि, मानौँ कोरोना उन्मुलन भइसक्यो । सत्ताको लुछाचुँडी सुरु भयो । विशेष गरेर सत्तासीन कम्युनिष्टहरुकै बीचमा । सत्ताधारी थिए, धूर्त शासक केपी ओली । उनी संसारमा सबै जान्ने एक मात्र व्यक्ति कोही छ भने त्यो म मात्र हो भन्ने अहंकारले भरिएका थिए । जसले आफ्नो दुईतिहाइको सरकार हुँदाहुँदै गत पुस ५ मा संसद विघटन गरिदिए ।

अब कम्युनिष्ट-कम्युनिष्टका बीचमा कसले बढी मान्छे सडकमा उतार्ने भन्ने होडबाजी चल्यो । गरिब देशका विवश नागरिकलाई हजार, दुई हजार दिएर गाउँगाउँबाट काठमाडौँ ल्याई काठमाडौँका सडकमा उफारे । उता कोरोनाले छोडेकै थिएन । विश्व स्वास्थ्य संगठन (डब्लुएओ) र विश्वका अनुभवी विज्ञहरुले भनिरहेका थिए- ‘कोरोनाको दोस्रो लहर आउँदै छ । यो झन् संक्रामक छ, सचेत रहनुपर्छ ।’ नेपालकै कतिपय अनुभवी चिकित्सक लगायतका विषयविज्ञले पनि भनिरहेका थिए- ‘कोरोनासँग लड्न हाम्रो तयारी पुगेन । इटाली, स्पेन, अमेरिकाको जस्तो भयो भने स्थिति भयावह हुन्छ ।’ यस्ता कुरा केपी ओली सुन्ने पक्षमै थिएनन् किनकि हरेक कुराका व्याख्याता र ज्ञाता त उनी आफैँ हुन् । अरुका कुरा किन सुनून् ? उनी प्रवचन दिन्थे- कोरोनाले नेपालीलाई किन असर गर्न सक्दैन भनेर । बोसीय तत्व, फ्याक्टीय तत्व, अम्बाको पात, बेसार पानी के के हो के के ? मानौँ कोरोनाकै विषयमा पीएचडी गरेका हुन् ओलीले र डब्लुएचओले पनि उनलाई नै विज्ञ खटाएको जस्तो । ओलीले नजानेको केही छैन । हरेक कुरामा आँखा चिम्लेर ताली पिट्ने र सही हो भनेर सामाजिक सञ्जालमा ‘केपी बा’ भन्ने जमात उनको छँदै थियो ।

कोरोनाको दोस्रो लहर सुरु भयो । मान्छेहरुमा भटाभट कोरोना पोजेटिभ देखिन थाल्यो । पहिलाको भन्दा कोरोना धेरै संक्रामक निस्कियो । सरकारले निषेधाज्ञाको तयारी थाल्यो । वैशाख १६ बाट निषेधाज्ञा लगाउने । यसरी मिति तोक्नु आफैँमा पहिलेको अनुभवबाट सिकेको हुनुपर्छ । गाउँ फर्किन चाहनेहरु गाउँ फर्किऊन्, सरकारको यो चाहना या अनुभव पनि हुनसक्छ । कोरोनाले त्रस्त बनाउँदै गयो । पहिला प्रधानमन्त्रीदेखि सबै नेताहरुले मान्छे उफारेको देखेका हाम्रा घरपरिवारका मान्छे नि ‘कोरोनाले केही गर्दैन’ भन्नेमै थिए । झन् बुढाबुढीलाई सम्झाउन झनै गाह्रो । ‘अहिलेका ठेट्नाले हामीलाई सिकाउने ?’ भन्ने उहाँहरुको सोच । उहाँहरुकै उमेरको प्रधानमन्त्री मान्छे उफारिरहेका छन् । बालुवाटार र धरहरामा जन्तीको लस्कर छ ।

उनी प्रवचन दिन्थे- कोरोनाले नेपालीलाई किन असर गर्न सक्दैन भनेर । बोसीय तत्व, फ्याक्टीय तत्व, अम्बाको पात, बेसार पानी के के हो के के ? मानौँ कोरोनाकै विषयमा पीएचडी गरेका हुन् ओलीले र डब्लुएचओले पनि उनलाई नै विज्ञ खटाएको जस्तो । ओलीले नजानेको केही छैन । हरेक कुरामा आँखा चिम्लेर ताली पिट्ने र सही हो भनेर सामाजिक सञ्जालमा ‘केपी बा’ भन्ने जमात उनको छँदै थियो ।

हाम्रो कुरा नसुन्नेमा मेरो ८४ वर्षीय पिताजी नि पर्नुभयो । बाहिर ननिस्कनुभन्दा मान्नुभएन, फलस्वरुप दोस्रो लहरमा उहाँलाई कोरोनाले भेटेछ । सामान्य रुघाखोकी भन्दै हुनुहुन्थ्यो । कोरोनाबाट अनुभवी दाजु (भेषराज घिमिरे)ले पीसीआर टेष्ट गराइहाल्नुभयो । बुवामा कोरोना पोजेटिभ, तनाव बढ्ने नै भयो । त्यसपछि आमा र मलाई अलि-अलि लक्षण देखिएकोजस्तो लाग्यो । पीसीआर टेष्टका लागि वैशाख १९ गते काठमाडौँ महानगरमा कार्यरत स्वास्थ्यकर्मी राधिका कुइँकेलले विशाल मिलन केन्द्रमा २ बजे आउनु भन्नुभयो । आमालाई लिएर म ठिक दुई बजे पुगेँ । शरीर अलिअलि दुखेको अनुभव भएको थियो तर त्यति धेरै थिएन । फेरि मैले त दुई डोज खोप लगाएको थिएँ । त्यति धेरै केही नहोला भन्ने थियो । आखिर खोप पनि के हो के ? सन्देह नै छ, अझै पनि ।

पीसीआर टेष्टको काम सकेर घर आयौँ । चिसो चिसो मौसम थियो । अक्सिमिटर र केही औषधि किनेर ल्याएँ । बुवाको लागि धेरै औषधि दाजुले नै ल्याइसक्नुभएको थियो । दाजुले कोरोना जितेको हुँदा अनुभवका आधारमा ल्याउनुभएको थियो । अक्सिमिटर ल्याएर बुवाको अक्सिजन लेभल हेरेको अक्सिजन लेभल त ७६ छ । अब तनाव झनै बढ्न थाल्यो । कसलाई भन्ने चिनेको केही साथीहरुलाई भनेँ । उपाय लागेन । दाजुले मिलाउनुभएछ । राति १०:०० बजेतिर दाजु अक्सिजन लिएर आउनुभयो । बुबालाई अक्सिजन दियौँ । मलाई शरीर दुख्न लागेको थियो । त्यस्तो धेरै केही नहोला, दुई डोज खोप लिएको भन्ने लाग्यो । सबैजना सुत्यौँ । करिब १२:४५ बजेतिरबाट सुत्न कठिन भयो । ज्वरो आयो, अब के गर्ने ? सुत्नै सकिनँ । सुतेको मान्छेलाई किन उठाउनुु भन्ने लाग्यो । घोप्टो परेर सुत्दा पनि हुन्न । यता गर्दा नि हुन्न, उता गर्दा नि हुन्न । छट्पटी निकै बढेछ । ममता (श्रीमती)ले थाहा पाइछन् । उनी बिउँझिएपछि ज्वरो नापेँ १०१ छ, दुखाइ पनि अति नै । ममतालाई सिटामोल छ कि सोधेँ । रहेछ, तर पनि पुरानोजस्तो लाग्यो । सडेको पो हो कि भन्ने । डेट त रहेछ । कोरोना लागेकोलाई ज्वरो बढ्न दिनुहुँदैन भन्ने सुनेको थिएँ भनूँ या थाहा थियो । सिटामोल खाइहालेँ । करिब १:३० भएको हुँदो हो बिस्तारै रिलिफ हुँदै गयो पसिना आएछ, निदाएछु । फेरि बिहान ९:०० बजेतिर ज्वरो आउन लाग्यो । अब त ज्वरो मात्र होइन छातीमा खकार गाँठो परेकोजस्तो अनुभूति भयो । सास फेर्न गाह्रो भएको अनुभूति पनि अलिअलि भयो ।

त्यस्तो धेरै केही नहोला भन्ने लागेको थियो, सिटामोल खाइयो । परिवारका सबैको अक्सिजन लेभल हेरिन्छ । बुवाको बाहेक सबैको ठीक छ । बुवालाई बेला-बेलामा अक्सिजन दिइरहेको छ । बुवाको पनि अक्सिजन लेभल ८५ सम्म पुग्न थाल्यो । दुई बजेतिर कोरोना रिपोर्ट आयो, आमा र मेरो दुवैको पोजेटिभ । आमाको सीटी भ्यालु ३१, मेरो त १८ । अब मबाट पो अरुलाई संक्रमण हुने देखियो । दुई डोज खोपको के काम भयो त ? उता ९ वर्षको छोरो र २१ महिना लाग्दै गरेकी छोरी जोसँग घरमा हुँदा एक मिनेट छुट्टिएर बसिन्न थियो । एक छिन त पूरा अन्धकारजस्तो भयो के गर्ने, के नगर्ने ? अब सबै जना छुट्टाछुट्टै कोठामा बस्ने व्यवस्था गरियो । उता ममतालाई लाग्यो कि, बच्चाबच्चीलाई नि भेट्यो कि भन्ने तनावले कहिलेकाहीँ ब्ल्यांक । केही होस् नभएकोजस्तो हुन लाग्यो तर पनि सहनुको विकल्प थिएन । ममता र बच्चाबच्चीलाई लक्षण देखिनासाथ पीसीआर गर्ने योजनामा बसियो । ममतालाई सोधिरहन्थेँ- केही लक्षण छ त ? ‘छैन’ भन्ने उत्तर आउँदा निकै राहत हुन्थ्यो । छोराले बहिनीलाई सकेसम्म टीभी, मोबाइलमा नै भुल्याउँथ्यो । त्यो दृश्य देख्दा मनमा आनन्दको सञ्चार हुन्थ्यो । कोठाभित्र पस्थेँ, आँसु आउँथ्यो । 

अब त ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने, खोक्न नसक्ने सबै लक्षणले गाँज्न थाल्यो । आफ्नो पीडा त समन गर्न सकिन्थ्यो तर बुवाको सुधार हुन सकेन । बुवाको होश हराएकोजस्तो अनुभव भयो । धारा खोलेर पुरै छोडिदिनुभएछ तर बुवालाई थाहा छैन । अब के गर्ने ? आमालाई त त्यति कठिन थिएन । अब परिवार साथीभाइलाई नि थाहा हुन थाल्यो । सबैको फोन आउन थाल्यो । फोनले सान्त्वना र सुझाव त दिन्थ्यो तर निदाउन लाग्यो फोन आइहाल्ने दिक्क पनि र डर पनि दिन थाल्यो । फेसबुकमा फोन नगर्नका लागि अनुरोध गरेँ । फोन त कम हुन थाल्यो तर साँच्चिकै सहयोग गर्न चाहने व्यक्तित्वहरुको फोन, म्यासेज त आइ नै रह्यो । उता बुवालाई त्यति सुधार भएको देखिएन । सिरिन्जबाट औषधि दिन पाए सुधार हुन्थ्यो भन्ने लाग्यो । दाजुलाई भनेँ, मैले पनि कोसिस गरेँ तर कहीँ बेड खाली छैन । दिनभरि बेड पाइएन, झन् तनाव बढ्न थाल्यो । उता आफूलाई नि निकै दुःख दिइरहेको छ ।

बुवाको पनि अक्सिजन लेभल ८५ सम्म पुग्न थाल्यो । दुई बजेतिर कोरोना रिपोर्ट आयो, आमा र मेरो दुवैको पोजेटिभ । आमाको सीटी भ्यालु ३१, मेरो त १८ । अब मबाट पो अरुलाई संक्रमण हुने देखियो । दुई डोज खोपको के काम भयो त ? उता ९ वर्षको छोरो र २१ महिना लाग्दै गरेकी छोरी जोसँग घरमा हुँदा एक मिनेट छुट्टिएर बसिन्न थियो । एक छिन त पूरा अन्धकारजस्तो भयो के गर्ने, के नगर्ने ?

राधिका घिमिरे दिदीले मोडल हस्पिटलमा प्रयास गरिरहनुभएको छ । त्यही आशामा बस्यौँ । बुवालाई सुधार हुन्न, आफूलाई नि अब त खान मन नै छैन । फेरि ‘कोरोना जित्न खाना पेल्नुपर्छ’ भन्ने सुझावले कान पाकिसकेको छ, खान मन लाग्दैन । बिहान अलिकति खाना खानु भनेको कुनै युद्ध जितेजस्तो हुन्थ्यो । फेरि बेलुका खानुपर्छ भन्ने चिन्ता लाग्थ्यो । नखान पाए पो रिलिफ हुन्छ जस्तो । खानामा कुनै स्वाद छैन, केही छैन, कागतीबाहेक । कागतीको चाहिँ स्वाद छ ।

सामाजिक सञ्जालमा बस्यो श्रद्धाञ्जलीका खबर मात्र । अनलाइनमा न्युज हेर्‍यो, मृत्युका खबरभन्दा केही छैन । प्रधानमन्त्री उद्घाटनमै व्यस्त छन् । अन्य नेताहरु प्रधानमन्त्री ओलीको आलोचना मात्र गर्छन् । विज्ञ भन्छन्- नेपालको चिकित्सा प्रणाली नै कोल्याप्स भइसक्यो । प्रधानमन्त्री दाबी गर्छन्- कोल्याप्स भएको छैन, डब्लुएचओका कारण जसलाई पनि कोरोना लागेर मरेको भन्नुपरेको मात्र हो, नियन्त्रणमा नै छ । यस्ता कुरा सुन्दा सुन्दर देशमा जन्मेकोमा गर्व गर्नुपर्छ, भनिन्थ्यो तर यस बेलामा त यो देशमा जन्मेकोमा धिक्कार लाग्न थालेको थियो । नेताहरुले लासमाथि शासन गरेको देख्दा । त्यति मात्र कहाँ हो र ? ‘कमिसनका कारण औषधि ल्याउन नसकेको’, ‘भ्यान्टिलेटरमा कमिसन खाएको’ यस्ता न्युज कति सुन्नु मन अमिलो हुने । वास्ता नगरौँ भन्यो, सन्ततिको अवस्था झन् के होला लाग्ने । कहिलेकाहीँ त ओलीको सन्तान छैनन् त्यसैले जनताको माया नभएको होलाजस्तो पनि लाग्थ्यो । सम्पूर्ण मोज आफैँ गरौँ भनेर यतिसम्म संविधानको धज्जी उडाएको होला जस्तो लाग्थ्यो । विद्या भण्डारी र केपी ओलीले यस्तो बेलामा संविधानलाई त सुपारी नै खेले । 

उता कोरोना बढेको बढ्यै । सरकारको काम मृतकका लास गन्ने मात्र थियो । आफ्नो कर्म बिरामीलाई बचाउने हो भन्ने इमान्दार चिकित्सकहरु अक्सिजन दिन नसकेर मरिरहेका बिरामीसँग माफी मागिरहेका थिए । कोही चिकित्सक आफूलाई कोरोना भए पनि बिरामीको सेवा गरिरहेका थिए । तिनीहरुलाई देख्दा आत्मैदेखि नमन गर्न मन लाग्थ्यो । उता आफू पनि सास फेर्न संघर्ष गरिरहेको थिएँ । दुखाइ पनि बढिरहेको थियो नै ।

राधिका दिदीको प्रयासबाट भोलिपल्ट मोडेल हस्पिटलमा बेड मिलेको खबर आयो । मैले तुरुन्त एम्बुलेन्सलाई फोन गरेँ । एम्बुलेन्स आउँदै थियो, फेरि हस्पिटलमा पुरानो बिरामीले छोड्न (डिस्चार्ज हुन) मानेन भन्ने खबर आयो । एम्बुलेन्स फर्काउनुपर्‍यो । एम्बुलेन्सवाला रिसायो । मानौँ मेरो मात्र दोष छ । हस्पिटलमा बेड नपाएर यस्तो भयो भन्दा ऊ रिसाइरह्यो, माफी मागेँ । आफ्नो गल्ती त थिएन, विवश थिएँ म । के गर्नु पिल्सिने त हामी नै हो नि राज्यसञ्चालकहरु नैतिकहराम भएपछि ।

फेरि बेड पाइएको खबर आयो- तुरुन्त बुवालाई ल्याउनु भन्ने । एम्बुलेन्सलाई फोन गरेँ । एम्बुलेन्स आयो, बुवालाई मोडेल हस्पिटल पठाइयो । दाजुले भर्नाको सबै प्रबन्ध मिलाउनुभयो । यता मलाई त सोचेभन्दा बढी नै दुःख दिन थाल्यो, सास फेर्र्नै कठिन हुन्छ, ढाड दुख्छ, खोक्न सकिन्न, खान पटक्कै मन छैन । आफ्नो पीडा छँदै छ, ती साना नानीहरुलाई सर्ने हो कि। सर्‍यो कि भन्ने चिन्ता त्यत्तिकै । ममतालाई बारम्बार सोध्छु- कुनै लक्षण छ ? छैन भन्ने उत्तर आएपछि भगवानलाई धन्यवाद दिन्थेँ । कमजोरहरुको साथमा कोही नभए नि भगवान हुन्छन् भन्ने सुनिन्थ्यो, हो जस्तो लाग्न थालेको थियो । कस्तो विपत्ति ७२ सालको भूकम्पले पनि तर्साएको त थियो तर परिवार आफन्त त सँगै बस्न पाइन्थ्यो । मरे पनि सँगै बाँचे पनि सँगै तर अहिले त आफ्नै नाबालक छोराछोरीसँग बस्न पनि नपाइने । केपी ओलीले ईश्वरको नाममा प्रतिज्ञा गर्न डराए पनि म चाहिँ भगवान नै सम्झिरहेँ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यही बिचमा रामलिला मैदानमा ५०० शय्याको आइसीयू तयार गरिरहँदा यहाँ वीर हस्पिटलको नवनिर्मित भवनमा ५०० शय्याको बेडलाई आइसीयूमा परिवर्तन गरी प्रयोगमा ल्याउन छोडेर संविधानको धज्जी उडाउँदै मध्यरातमा संसद विघटन गरी चुनाव घोषणा गर्ने सरकार छ मेरो । कति निर्लज्ज सरकार ! फेरि निर्वाचनमा यिनै भष्मासुरहरु आउने हुन् । किन चाहियो, निर्वाचनको नारा ?

कोरोनाले पाँचौँ, छैटौँ दिन त झन् दुःख दियो । खपिरहेको छु, त्यही बेलामा राजनीतिकरुपी ताण्डव नृत्य सुरु भएको छ । अचम्म कोरोनाले ठुला नेतालाई कसैलाई केही गरेको छैन । मन-मनमा लाग्थ्यो देशका भष्मासुरहरुसँग त कोरोना पनि डराउँछ कि के हो ? आफूलाई त अझै दुःख दिइरहेको छ, आठौँ नवौँ दिनसम्म उस्तै । उता बुवालाई ठिक हुँदै आयो र बुवा घर आउनुभयो । मन अलि हल्का हुँदै गएको थियो । मलाई पनि केही सजिलो अनुभूति हुन थाल्यो तर खान मन छँदै छैन, स्वाद छँदै छैन मात्र दुखाइ कम भएको अनुभूति हुँदै गएको छ । १८, १९ दिनपछि चाहिँ स्वाद खुल्दै गयो र बिसेक भएको लागेको थियो । पीसीआर गरेको अझै पोजेटिभ नै देखाउँछ तर अब त केही हुन्न भन्ने भयो । तर पनि छोराछोरीभन्दा टाढै अझै बसी नै रहेँ । अब त निको भयो ।

सम्झिन्छु, हामीलाई त यति पीडा दिएको छ भने बिहान कमाएर बेलुका खाने परिवारको कस्तो बिचल्ली होला ? अक्सिजन नपाएर जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेको आत्मा कस्तो होला ? झन् एउटै कोठामा एकपछि अर्कोलाई कोरोना लाग्दा कहाँ, कसरी छुट्टै बस्न सक्लान् ? अझ जसले आफन्त गुमाउनु परेको छ, उनीहरुको हृदयविदारक पीडा कसले बुझ्ला ? आफन्त मात्र नगुमाएर परिवारका एकभन्दा बढी सदस्य गुमाएको पीडा कसरी समन गर्नु ? दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यही बिचमा रामलिला मैदानमा ५०० शय्याको आइसीयू तयार गरिरहँदा यहाँ वीर हस्पिटलको नवनिर्मित भवनमा ५०० शय्याको बेडलाई आइसीयूमा परिवर्तन गरी प्रयोगमा ल्याउन छोडेर संविधानको धज्जी उडाउँदै मध्यरातमा संसद विघटन गरी चुनाव घोषणा गर्ने सरकार छ मेरो । कति निर्लज्ज सरकार ! फेरि निर्वाचनमा यिनै भष्मासुरहरु आउने हुन् । किन चाहियो, निर्वाचनको नारा ? के जनतालाई फेरि कोरोनामा धकेलेर मार्ने नै योजना हो ? कि चुनावको नाममा अझै सधैँ शासन गर्ने अभिसप्त प्यास हो ? दिक्दार लाग्छ, समकालीन नेताबाट सुधारको थोरै आशा पनि छैन । अनुदानमा आएको सिलिन्डर लुछाचुँडी गरी एउटा सिलिन्डर वरिपरि बसेर फोटो खिच्ने अनि सेवा गरेको फोटो पोष्ट गर्ने सांसद त छन् । धिक्कार छ !

जे होस् यो पटकलाई हाम्रो सपरिवार बाँच्न सफल भइयो । एकातिर बाँचिएकोमा खुसी त छ तर अर्कातिर अक्सिजनसम्म नपाएर मृत्युवरण गर्न पुग्नुभएका नेपाली सम्झिँदा आफू बाँचेको खुसीमा पनि पीडा र आँसु नै छचल्किएका छन् । यस बिचमा दिवंगत हुनुभएका सम्पूर्ण मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । अन्तमा बिरामी हुँदा माया, सद्भाव राखी स्वास्थ्य लाभको कामना गर्नुहुने, सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु । अझै विपत्ति कम भएको छैन, तेस्रो लहरको कुरा आइरहेको छ । कोरोनालाई कम नआँक्नुहोला, सचेत रहनुहोला, सबै एकजुट भई कोरोना परास्त गरौँ ।

सम्बन्धित खबरहरु