Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

दुर्गममा कार्यरत फ्रन्टलाइनरहरु भन्छन्- अहिले नै हाे पेशागत धर्म निभाउने समय

सीता वली वीरेन्द्रनगर जेठ ९, २०७८       

दुर्गममा कार्यरत फ्रन्टलाइनरहरु भन्छन्- अहिले नै हाे पेशागत धर्म निभाउने समय

केसाङ डोल्मा लामा भर्खरै पढाई सकेर सेवामा लागेकी थिइन् । बीएस्सी नर्सिङ सकेर सेवामा लागेकी लामाले सेवा सुरु गर्दैगर्दा कोरोना भाइरस संक्रमण फैलिन सुरु भयो । जिवनमा कहिल्यै नसुनेको कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएपछि उनको मनमा पनि एकखालको डर उब्जियो । तर आफैँले फ्रन्टलाइनर भएर भाइरसको सामना गर्नुपर्छ भन्ने उनलाई लागेको थिएन ।

देशमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि २०७७ चैत्र ११ गतेदेखि लकडाउनसमेत गरियो । बिस्तारै कर्णाली प्रदेशसमेत कोरोना संक्रमणबाट अछुतो रहन सकेन । जिल्ला अस्पताल हुम्लामा स्टाफ नर्सको रुपमा काम गर्दै आएकी लामाले जिल्लामा भाइरसको संक्रमण बढ्न थालेपछि फ्रन्टलाइनर भएर काम गर्न थालिन् । पहिलो चरणको भाइरस फैलिँदा धेरै डर लागेको उनले सुनाइन् ।
हुम्ला जस्तो दुर्गम क्षेत्रमा संक्रमितको सेवा गरेपछि दैनिक नुहाउन सम्भव नहुने, स्वास्थ्य सुरक्षा सामग्री पीपीईसमेत नपाउने भएका कारण उनलाई निकै डर लाग्थ्यो । घरपरिवारलाई आफ्नो कारण केही भइहाल्छ कि भन्ने उनले सोच्थिन् ।

तर पनि बिरामीको सेवा गर्नु धर्म सम्झँदै उनले निरन्तर सेवा गरिन् । अक्सिजन दिनुपर्ने बिरामी बत्ती गएको समयमा छट्पटिएको देख्दा झनै डर लाग्ने गरेको उनले अनुभव सुनाइन् । भौगोलिक विकटताको कारण स्वास्थ्य सामग्री नपाइने समस्याका बिच पनि सेवा गरिरहेको लामाले अस्पतालभित्रको फार्मेसीमा औषधि नपाउँदा कति पटक बाहिर दौडिनु परेको थियो । पहिलो चरणमा मनमा डर भए पनि सेवालाई निरन्तरता दिएकी लामा दोस्रो चरणको संक्रमणसँग लड्न झनै आत्मबल बढेको बताउँछिन् ।

पछिल्लो समय स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रशस्त पाइने र एकपटक भाइरसको सामना गरेको कारण आत्मबल बढेको उनले बताइन् । सिमकोट गाउँपालिका वडा नं ३ घर भएकी २४ वर्षीय लामा दुर्गममै सेवा गर्नका लागि नर्सिङ पढेको बताउँछिन् । ‘सहरी क्षेत्रमाजस्तो चेतनाको स्तर गाउँघरका नागरिकमा हुँदैन । हाम्रो हुम्लामा धेरै लामा जाति छन् । उहाँहरु धेरैजसोले नेपाली भाषा बुझ्नुहुन्न । दुर्गममा रहेको आफ्नो ठाउँमा सेवा गर्दा जस्तासुकै कष्ट भए पनि मनमा आनन्द आउने रहेछ,’ उनी भन्छिन् । धेरैपटक स्थानीयलाई अस्पतालमा नभएको औषधि पनि आफ्नै पैसाले किनेर दिने गरेको उनले बताइन् ।

दुर्गममा १८ वर्ष सेवा गरेकी अर्की फ्रन्टलाइनर हुन् रामदेवी केसी । जिल्ला अस्पताल मुगुमा सिनियर अनमी अधिकृत छैटौं तहमा कार्यरत उनले दुर्गम क्षेत्रमा सेवा गर्दाको पीडा अझै धेरै भोगेकी छन् । चन्दननाथ नगरपालिका- ३ जुम्ला घर भएकी केसीले दुर्गममा बसेर नागरिकको ज्यान बचाउनका लागि डाक्टरको कामसमेत गर्नुपरेको बताउँछिन् । ‘कोरोना भाइरस त सामान्य लाग्छ,’ उनी भन्छिन्, ‘धेरै पटक एक्लै अस्पताल धानेकी छु । प्रसव पीडामा भएकी महिलाको ज्यान जोगाउनका लागि डाक्टर नभएको समयमा आफैँले अपरेसनसमेत गरेको अनुभव सुनाउँदै केसी हाल नर्सिङ इन्चार्ज भएर कोरोना प्रतिकार्यका लागि खटिएकी छन् ।

सुगममा जन्मिएकाहरुले दुर्गमको सेवा नरोज्ने भएका कारण हामी ‘आफैँले आफ्ना आफन्तको ज्यान बचाउनुपर्छ’ भनेर नै दुर्गम सेवा रोजेको केसीको भनाइ छ । भौगोलिक विकटता र मौसम खराब भएको समयमा स्वास्थ्य सामग्रीहरुको अभावसमेत झेल्नुपर्ने र अर्कोतिर नागरिकको ज्यान बचाउनुपर्ने बाध्यता दुर्गममा रहेको उनले सुनाइन् । पहिलेभन्दा अहिले सेवा दिन असाध्यै सहज भएको रामदेवीको अनुभव छ । ‘कोरोना प्रतिकार्यका लागि पनि सबै सामग्रीको जोहो गर्दै आएकी छु,’ उनी थप्छिन्, ‘अनुभवी जनशक्ति नहुँदा सबै ठाउँमा आफैँ दौडिनुपर्छ ।’ दुर्गमको सेवा कष्टकर भए पनि नागरिकको ज्यान बचाउन पाउँदा खुशी लाग्ने उनले बताइन् ।

डोल्पा जिल्ला अस्पतालमा कार्यरत नर्स स्वस्ती हमालसमेत दुर्गम सेवा रोजेर कार्यरत छिन् । ठुलीभेरी नगरपालिका- ३, दुनै बजारमा घर भएकी हमाल जस्तोसुकै समस्यामा पनि आफ्नै ठाउँमा सेवा गर्ने उद्देश्यले यो क्षेत्र रोजेकी हुन् । विगत चारवर्षदेखि जिल्ला अस्पताल डोल्पामा कार्यरत हमाल कोरोना भाइरस संक्रमण प्रतिकार्यमा पनि फ्रन्टलाइनरको रुपमा काम गरिन् । स्वास्थ्य सामग्री अभावका बिच पनि निरन्तर सेवा दिएकी स्वस्ती दुर्गममै जन्मिएर दुर्गममै सेवा गर्न पाउँदा खुशी छन् । पहिलो चरणमा फैलिएको कोरोना भाइरसले डोल्पा जिल्लालाई त्यति प्रभाव नपारे पनि दोस्रो चरणमा भने निकै प्रभाव पारेको उनले बताइन् । अस्पतालमा र अस्पताल बाहिर पनि कोरोना संक्रमितहरु धेरै भएकाले काम गर्न समस्या भएको उनी बताउँछिन् ।

‘कोरोनासँग डर लागे पनि सेवा नै धर्म हो । हरेकले आफ्नो पेशागत धर्म सही समयमा निभाउन सक्नुपर्छ,’ उनको दृढता छ । कोरोना भाइरस प्रतिकार्यका लागि भेन्टिलेटर तथा पर्याप्त मात्रामा अक्सिजनसमेत नहुँदा समस्या आउने उनी सुनाउँछिन् । कोरोना भाइरसको संक्रमण मात्रै होइन अन्य स्वास्थ्य सेवा दिनसमेत सुगम क्षेत्र जस्तो सजिलो नभएको उनको अनुभव छ । सबैको स्वस्थ्य जिवन भए आफूलाई जस्तोसुकै कष्ट भए पनि स्वस्तीलाई खुशी लाग्छ ।

उनीहरु मात्रै होइन दुर्गममा थुप्रै नर्सहरु फ्रन्टलाइनरको रुपमा सेवा दिइरहेका छन् । भौगोलिक विकटता, स्वास्थ्य सामग्री अभाव लगायतको समस्याका बाबजुद पनि उनीहरुले सेवामा कुनै कमी राखेका छ्रैनन् । उपलब्ध स्रोतसाधन र आफूले हासिल गरेको अनुभवको आधारमा धेरैको ज्यान बचाएका छन् । सेवा गर्न सुगम क्षेत्र रोज्नेहरुका लागि दुर्गममा सेवा रोजेका यी नर्सहरु उदाहरण हुन् ।

सम्बन्धित खबरहरु