Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

न्युज कारोबार काठमाडौं जेठ ९, २०७८       

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा संकेतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ ।

गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमितसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुखले दिएको दुई निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधनसमेत प्रयोग गरेको छ ।

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । कोरोनाको सबैभन्दा बढी सङ्क्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उहाँको भनाइ छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई भेट्न वडा स्तरमा स्वास्थ्यकर्मीसहितको टोलीसमेत परिचालन गरिएको छ । नगरपालिकाले बेनी अस्पताललमा आइसोलेसन कक्ष बनाउन करिब ७ लाख रूपैयाँ सहयोग गरेकाले होम आइसोलेसनमा सिकिस्त भएका संक्रमतिलाई अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

उता पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले वडास्तरमा स्वाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, संक्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । त्यसैगरी मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब सङ्कलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरु गरिरहेको छ ।

हरेक वडाका संक्रमितको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 'कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ,' उनले भने । त्यस्तै धवलागिरि गाउँपालिकाले संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ । त्यस्तै अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्बाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ । 

रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित संक्रमितलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । रघुगंगामा संक्रमितको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगङ्गा जलविद्युत् आयोजनामार्फत  व्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ । त्यस्तै गाउँपालिकाभित्रका सबै वडामा पुगेर संक्रमितको अवस्था बुझ्ने र निःशुल्क औषधि वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताएका छन् । 'हरेक संक्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ, समुदायस्तरमै पुगेर धेरै काम भएका छन्, समुदायले संक्रमितलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ,' सुवेदीले भने ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने संक्रमितको पहिचान, उपचार तथा मृत्यु भएमा शव व्यवस्थापनलाई गाउँपालिकाले व्यवस्थित बनाएको छ । कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समन्वय गर्ने तथा शंकास्पद बिरामीलाई तत्कालै स्वाब संकलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समेत संक्रमण फैलिन नदिन र संक्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

सम्बन्धित खबरहरु