Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

बंगलादेशमा नयाँ प्रकारको कोभिड संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु

न्युज कारोबार काठमाडौं जेठ ५, २०७८       

बंगलादेशमा नयाँ प्रकारको कोभिड संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु फाइल तस्बिर

बंगलादेशले कोभिड-१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ ।

सरकारको संक्रामक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार मृतक संक्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।

बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको सुरुमा अत्यधिक संक्रामक कोरोनाभाइरसका दुई घटनाहरू पत्ता लागेका थिए । भारतमा कोभिड-१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो । 

बंगलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको संख्या ३२ रहेको थियो भने कोभिड-१९ का कारण संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बंगलादेशमा कोभिड-१९ पुष्टि भएको संख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु