Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

मानसिक स्वास्थ्य र बाल्यकालकाे हेरचाह कसरी गर्ने ?

सुशीला नेपाल काठमाडौं जेठ ४, २०७८       

मानसिक स्वास्थ्य र बाल्यकालकाे हेरचाह कसरी गर्ने ?

आज म कुन ठाउँमा छु ? मेरो काम, मैले अरुलाई दिने सम्मान, माया, साथ-सहयोग, आदर, सत्कार कस्तो छ ? के म समाजमा एउटा असल व्यक्ति हुन सके ? परिवार, सम्बन्ध र मायालाई बचाउन सके ? हामीलाई लाग्छ कि अरुले राम्रो भनिदेओस् । सहयोग गरोस् । के हामीले अरुलाई सहयोग गरेका छौ त ? हरेक अभिभावकलाई लाग्छ, आफ्ना बालबालिका सबै कुरामा अब्बल होस् । हजुरबा, हजुरआमा भन्नुहुन्थ्यो कि सन्तानले डाँडाकाँडा ढाकून् । अहिले हामी भन्छौं- सन्तान एउटा होस्, डाक्टर वा पाइलट बनाउँछु । सोच्न त जसले पनि यस्तै नै सोचेको हुन्छ । तर, सोचाइ र अभिभावकहरुको व्यवहारमा भने फरक हुन्छ । अहिलेको अवस्था हामी बालबालिकाको पढाइमा मात्र केन्द्रित छौँ । आफ्नो बच्चाको पढाउनमा जति खर्च लागे पनि जुटाउन तयार हुने हामी अभिभावकले उनीहरुलाई सामान्य व्यवहारिक कुराहरु सिकाउने विषयमा कतिको ध्यान दिएका छौँ त ?

मानसिक स्वास्थ्य 

मानसिक स्वास्थ्य भन्नाले आफूमा भएको योग्यता र कार्यक्षमता अनुसार समाजमा गर्ने सर्वस्वीकार्य व्यवहार तथा उत्तम सामाजिक र वातावरणीय समायोजनलाई जनाउँछ । वरिपरीको वातावरण र व्यक्तिको बीचको सन्तुलन र पारस्परिक समायोजन गर्न सक्नुलाई मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ । जसरी हाम्रो शरीरमा चोट लाग्दा हामी दैनिक रुपमा आफ्ना कार्य गर्न सक्दैनौँ, त्यसरी नै जब मनमा चोट पर्छ, उसका हरेक पक्षलाई असर पुर्‍याउँछ । जब दिमागले सही ठाउँ लिन सक्दैन, व्यक्तिले असामान्य व्यवहार देखाउँछ । अनि हामी भन्छौँ- कस्तो पागल रहेछ । हामी बुझ्ने कोसिस गर्दैनौँ कि, उसलाई सहारा र सहयोग चाहिएको छ । मानसिक स्वास्थ्य सन्तुलन राख्नका लागि बाल्यकाल देखिको वातारणले पनि प्रभाव पार्दछ । बाहिर कोही हाँसिरहन्छ तर दुखले भित्रभित्रै जलाई रहेको पनि हुनसक्छ । मानसिक रुपमा अस्वस्थ भनेर कसैलाई इंगित गर्न सकिँदैन, जसरी शरीरको चोट देखेर शारीरिक अस्वस्थता देख्छौं । बालबालिकाको दिमागमा पर्नसक्ने असरलाई ख्याल नगरी हामी अभिभावकहरु झगडा गर्ने, मनपरी बोल्ने, अरुलाई दोषारोपण गर्ने, कुरा काट्ने गर्छौं । के हाम्रा बालबालिकाहरु पनि हामीजस्तै होस् भन्ने चाहन्छौ र ? बालबालिकाको मस्तिष्कमा पर्ने असरलाई आजैदेखि विचार गरौँ । तलका कथाबाट केही बुझौँ ।

एउटा पाँच वर्षीय बालकको आमाले उसलाई उसको बाबुसँग छोडेर अर्कैसँग जान्छे । सुरूमा उसको बाबु उदास हुन्छ, छोराको मुख हेरेर मन शान्त पार्न खोज्छ र छोराको राम्रै हेरविचार गर्छ । तर, केही महिनापछि अनलाइन डेटिङमा व्यस्त हुन थाल्छ । कामबाट घर फर्केर आएपछि प्रेमिकासँग गफमा मस्त हुन्छ । छोरालाई दुई-चारवटा नयाँ खेलौना ल्याएर दिन्छ- सोच्छ, छोरा खुशी नै होला ।

तर छोराको मनस्थिति अर्कै प्रकारले विकसित भइरहेको हुन्छ । जब आमाले छोडेर गइन् । ऊ सोच्छ- आमाले मलाई माया गरिनन् । मभन्दा अर्कै मान्छे राम्रो रैछ । आमाले के कारणले छोडेर गइन् भनेर विवेचना गर्ने क्षमता उसमा विकसित भइसकेको हुँदैन । त्यस्तै, मेरो बाबु अब एक्लो भयो, उसलाई पनि एउटा जीवनसाथी चाहिन्छ, भनेर सोच्ने क्षमता पनि उसमा विकसित भएको हुँदैन । ऊ सोच्छ- मेरो बुवाले पनि मलाईभन्दा बढी अर्कैलाई माया गर्छ । अब बाबुको ध्यान आकर्षण गर्न कहिलेकाँही ऊ बढी रुने/कराउने या झगडा गर्ने हुनसक्छ । कहिलेकाँही ऊ झोक्राउने र चुपचाप भएर बस्छ । झगडा गर्ने भए पनि या चुप लाग्ने भए पनि उसको मनमा मन पराउन लायक रहेनछु वा मलाई एक्लै हुनुपर्छु भन्ने सोचाई आउन सक्छ । यस्ता सोचाइले उसलाई थप उदास या चिन्तित पारिदिन सक्छ । जब ऊ स्कूल जान थाल्छ । ऊ एउटा डर लिएर गएको हुन्छ- फेरि पनि मलाई कसैले छोडेर जाने हो कि ! कता-कता मनको कुनामा ऊ आफूलाई अरूभन्दा अलि कमजोर हो कि भन्ने सोचाइ पाल्न सक्छ ।

अभिभावक तथा बुवा आमाले बालबालिकाको विचार र व्यवहार सकरात्मक बनाउन नसक्दा आउने परिणाम के होला त ? 
♦   उदासीनता 
♦    झगडालु, कुलतमा फस्ने 
♦   रिसाहा 
♦    पढाइ छोडने 
♦  यौन दुर्व्यवहारको शिकार 
♦   चिन्तित 
♦   असामान्य व्यवहार 
♦    अविश्वास 
♦    एक्लोपन 
♦   आत्महत्या कोशिस

बालबालिकाहरु यौन दुर्व्यवहारकाे शिकार भएको घटनाहरु हामी जति पनि सुन्छौं, ति घटनाहरुमा कहीँ न कहीँ उसको बाल्यकालको वातावरण वा हामीले गरिरहेको व्यवहार पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जिम्मेवार हुन्छन् । ८ वर्ष सम्मको उमेर अवधिलाई पूर्वबाल्यअवस्था भनिन्छ । यो उमेरमा हामीले सिकाएका शैली, व्यवहार, संस्कार, रितीरिवाज र हामीले आपसमा गर्ने कामव्यवहार देखेर बालबालिकाको स्वभाव र मान्यता प्रभावित हुने भएकाले यसतर्फ सबै अभिभावकले ध्यान दिनु जरुरी छ ।

विभिन्न कारणले हामीलाई तनाव हुँदा बालबालिकालाई रिस पोख्ने गर्दछौं । तर यस्तो व्यवहार निकै घातक हुन्छ । यस्ता तनावलाई व्यवस्थापन गर्ने केही उपाय जानौं । आत्महेरचाह (self-Care) गराैं ।
-    राम्रोसँग निदाउनुहोस् (आरामले सुत्नुहोस्) । 
-   दैनिक रुपमा केही समय राम्रो कुराहरुको मनन गर्नुहोस् । 
-    स्वस्थ्यावर्द्धक खाना खानुहोस् । दैनिक अभ्यास (exercise) गर्नुहोस् । केही समय हिँड्नुहोस् ।
-    हिमाल, बिहानीको दृश्य आदि हेरेर प्राकृतिक सुन्दरतामा रमाउनुहोस् ।
-    आफूलाई मन पर्ने गीत-संगीत सुन्ने गर्नुहोस् । संगीतका विभिन्न साधनहरु बजाउने गर्नुहोस् । 
-    गीत गाउनुहोस् वा गीत गुनगुनाउने गर्नुहोस् । नाच्नुहोस् । चित्रहरु कोर्नुहोस् र मनपर्ने रंगहरु भर्नुहोस् ।
-    आफ्नो मन मिल्ने साथी वा परिवारका सदस्यलाई सम्पर्क गर्नुहोस् र भलाकुसारी (कुराकानी) गर्नुहोस् । 
-    आफ्नो सबैभन्दा मन मिल्ने साथीलाई भेट्नुहोस् । 
-    हाँस्नुहोस् र मुस्कुराउनुहोस् । आफ्नो यथार्थ लक्ष्य निर्धारण गर्नुहोस् र आफ्नो प्रगतिमा रमाउनुहोस् र त्यसलाई पुरस्कृत गर्नुहोस् 
-    आफ्नो खेतबारी र करेसाबारीमा समय दिनुहोस् । गहिरो श्वासप्रश्वासको अभ्यास गर्नुहोस् ।

समय, सम्बन्ध र समाजमा समायोजन हुने वातावरण निर्माण गर्न र एउटा असल व्यक्ति बनाउन हरेक अभिभावकले कोसिस गरौँ । नराम्रा बानीलाई हटाउँदै बालबालिकाको सर्वाङगीण विकासमा सहयोग पुर्‍याउँ । यसका साथै मानसिक समस्याहरु आउन नदिनका लागि बालमैत्री वातावरण सिर्जना गरौं ।

सम्बन्धित खबरहरु