Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

'अक्सिजनको लागि कतिसँग हात जोडिरहेको छु, कतिसँग झगडा नै गरेँ'

दिनेश बिष्ट धनगढी जेठ २, २०७८       

'अक्सिजनको लागि कतिसँग हात जोडिरहेको छु, कतिसँग झगडा नै गरेँ'

कोरोना महामारी बढेसँगै देशैभर अक्सिजनको माग बढिरहेको छ । एक सिलिन्डर अक्सिजन पाए बिरामी बचाउन सकिन्थ्यो कि भनेर बिरामीका आफन्तहरु खाली सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा धाइरहेका छन् । समयमै अक्सिजन नपाउँदा कतिपय संक्रमितको अकालमै ज्यान गइरहेको छ । बिरामी एकातिर अस्पतालको शय्यामा तड्पिरहेका छन् त अर्कोतर्फ आफन्त अक्सिजनको खोजीमा भौतारिरहेका छन् । 

सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पताल हो सेती प्रादेशिक अस्पताल । जिल्लामा उपचार सम्भव नभएपछि बिरामीहरु सेती अस्पतालमै पुग्छन् । प्रदेशको मुख्य सहर धनगढीमा अहिले दैनिक संक्रमण बढिरहेको छ र दैनिक अक्सिजन आवश्यक पर्ने बिरामी पनि अस्पतालमा थपिँदै छन् । तिनै बिरामीहरु पनि अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । सेती अस्पतालमै रहेको अक्सिजन प्लान्टमा बिरामीका आफन्तहरु अक्सिजन माग्दै लाइनमा पालो कुरिरहेका हुन्छन् । उनीहरुलाई थोरै अक्सिजन पाए पनि आफन्त बचाउन सकिन्थ्यो भन्ने आस हुन्छ । 

गत सोमबार बुवाको अक्सिजन मात्रा घटेपछि धनगढी उपमहानगरपालिका ३ का एक पुरुष स्थानीय नोभा अस्पताल पुगे । अस्पतालका चिकित्सकले साँझसम्म मात्र अक्सिजन पुग्ने भएकाले थप समयका लागि तत्काल अक्सिजनको व्यवस्था गर्नुपर्ने बताए । त्यसपछि अक्सिजन पाइने आशामा उनले बुवालाई सारथी अस्पताल पुर्याए । सारथीमा भएको अक्सिजनले मंगलबार बिहानसम्म उनले बुवालाई बचाए । मंगलबार बिहान करिब १२ बजे अस्पतालमा भएको सबै अक्सिजन सकियो । र उनी आत्तिदै थप अक्सिजनको खोजीमा लागे । बल्लतल्ल भेटेको आधा सिलिन्डर अक्सिजनले बुवालाई साँझसम्म पुग्यो । साँझ भने अर्र्का बिरामीको आफन्तले दिएको अक्सिजनले राति १० बजेसम्म पुग्यो । अन्तमा, अरु विकल्प नभएपछि उनले मोटरसाइकलमा हालेर बुवालाई पुनः सेती अस्पताल पुर्‍याए ।

त्यहाँ पनि अक्सिजन खोज्दैमा उनको केही समय बित्यो । पाएको आधा सिलिन्डर अक्सिजन पनि तत्काल जडान गरिदिने उनले मान्छै पाएनन् । बल्लतल्ल अक्सिजन जोडिएको मात्र के थियो, त्यसको पाँच मिनेटमै उनको बुवाले संसार छाडे । ‘बचाउन धेरै खोजेको हुँ । न समयमा अक्सिजन पाइन्छ, न समयमा सम्बन्धित चिकित्सक । निजी अस्पतालमा गए उपचार अति महँगो हुने । सरकारीमा आउँदा चिकित्सक खोज्नै गाह्रो छ,’ उनले दुखेसो सुनाए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का उपेन्द्र मल्ल बिरामी काकालाई लिएर सेती प्रादेशिक अस्पताल पुगेका थिए । काकालाई आवश्यक पर्ने अक्सिजनका लागि उनी घरि मालिका ग्यास उद्योगमा पुग्छन् त घरि सेतीकै अक्सिजन प्लान्टमा लाइन लाग्छन् । शनिबार बिहानै सेती अस्पतालको अक्सिजन प्लान्टबाट उनी अक्सिजन सिलिन्डर लिएर बिरामी राखिएको शय्यातिर गइरहेका भेटिए । उनको अनुहारमा पनि अक्सिजन नपाउँदाको पीडा र अक्सिजन खोजीको पीडा प्रष्टै देखिन्थ्यो । ‘अहिले बल्ल अक्सिजन पाएँ । यो सकिएपछि अर्को पाउँछु कि पाउन्न थाहा छैन । काकालाई बचाउन यही अक्सिजन हो चाहिने । पाए बचाउन सकिएला, नपाए के गर्नु,’ मलिन अनुहारमा भेटिएका उनले समस्या सुनाए, ‘आँखैअगाडि ५/६ जनाको मृत्यु भइसक्यो । बिरामीलाई पनि म बाँचेर फर्किन्छु भन्ने आश छैन ।’

कैलालीको बर्दगोरिया गाउँपालिका– ४ का रामलाल डगौरा चार दिनदेखि सेती अस्पतालमै आमाको उपचार गराइरहेका छन् । उनले पनि बल्ल मात्र अक्सिजनको महत्व बुझ्दैथिए । भने, ‘बिरामीलाई दिइने अक्सिजन यस्तो हुन्छ भनेर थाहा पनि थिएन । पहिलोपटक देखेको यो अक्सिजन सञ्जीवनी बुटी नै रहेछ । यसैका लागि कतिलाई हात जोडिरहेको छु, कतिसँग झगडा नै गरेँ ।’ १ घण्टाका लागि अक्सिजन पाएका उनले त्यसपछि के हुने हो भनेर आफूलाई थाहा नभएको बताउँदै थिए ।

अक्सिजनको यसरी अभाव हुन थालेपछि सेती प्रादेशिक अस्पतालले स्वास्थ्य मन्त्रालयलाई विमान चार्टर गरेर अक्सिजन पठाउन आग्रह गरेको छ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रालयलाई अवस्था नियन्त्रणबाहिर गइसकेको भन्दै पत्र नै पठाए । ‘सेती प्रादेशिक अस्पतालसँगै सुदूरपश्चिमको अवस्था नियन्त्रणबाहिर गइसकेको छ । विमान चार्टर गरेर चाँडो अक्सिजन आपूर्ति नभए यहाँ दैनिक लासको थुप्रो लाग्न सक्छ,’ उनले पत्रमा अस्पतालकाे नाजुक स्थितिबारे उल्लेख गरेका छन् । 

बिरामीहरुका लागि अक्सिजन आपूति गर्न समाजसेवी हेमराज ओझा पनि निकै सक्रिय छन् । ‘अहिले जति पनि बिरामीले ज्यान गुमाइरहेका छन्, अक्सिजन नपाएकै कारण हो । घरमा अलि बढी समस्या भएपछि अस्पताल आउनुहुन्छ । अस्पताल आउने अधिकांशलाई अक्सिजन चाहिन्छ । त्यस कारण यहाँको अक्सिजनले भ्याउने अवस्था छैन,’ उनले भने, ‘म आधा रातसम्म अस्पतालहरुमा हुन्छु । अक्सिजनका लागि रोइकराई गर्दा–गर्दै मान्छेको ज्यान गइरहेको छ । अब केन्द्रबाटै केही राम्रो पहल भए बिरामी बाच्नेछन् । नत्र अझै कयौँ बिरामीले अकालमा ज्यान गुमाउनुपर्छ ।’

सम्बन्धित खबरहरु