Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

धनगढीमा रोयल कोलाबोरेटिभ्सद्वारा अटो एम्बुलेन्स सेवा

दिनेश बिष्ट कैलाली जेठ २, २०७८       

धनगढीमा रोयल कोलाबोरेटिभ्सद्वारा अटो एम्बुलेन्स सेवा

धनगढीमा एम्बुलेन्सको अभाव पूर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको लागि एम्बुलेन्सको अभाव भएपछि रोयल कोलाबोरेटिभ्सले धनगढीमा अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । अटो एम्बुलेन्सले एम्बुलेन्स अभावकै कारण बाटोमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा लिइएको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम रहेको धनगढीमा यतिबेला कोरोना संक्रमणले भयाभह अवस्था सिर्जना गरेको छ । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमणकै कारण बिरामीको चाप पनि बढ्न थालेपछि अहिले बिरामीहरुले सवारी साधन नपाएर अस्पताल आउन नपाउँदै ज्यान गुमाउनु परेको छ । धनगढी उप–महानगरपालिकासँगको साझेदारीमा रोयल कोलाबोरेटिभ्सले उप–महानगरभित्र अटो एम्बुलेन्स सञ्चालन गरेको हो । उपमहानगरपालिकाअन्तर्गत वडा कार्यालयहरुसँग समन्वय गरी सबै वडामा सञ्चालन हुनेगरी अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । 

रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले भने, ‘हामी गत वर्षको कोरोना कालमा औषधी घर घरमा पुगाउनेदेखि सीमा क्षेत्रमा खाना खुवाउने काममा निकै खटिएका थियौं । अहिले एम्बुलेन्स अभावकै कारण धेरैको ज्यान गइरहेको छ, ठूलै एम्बुलेन्स सञ्चालन गर्न नसके पनि हामीले अटो एम्बुलेन्स सुरु गरेका हौं ।’ तत्काललाई धनगढी क्षेत्रभित्रै सञ्चालन गरिने र बिस्तारै जिल्लाभरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘हामीले चालकहरुलाई पीपीईको व्यवस्था गरेका छौं,’ उनले भने, ‘चालकहरु र हाम्रोे फोन नम्बर पनि सार्वजनिक गरेका छौं । आवश्यकता परेकाहरुले सम्पर्क गर्नुहोला ।’

एम्बुलेन्सको अभावमा संक्रमितलाई अस्पतालसम्म जान आउन कुनै समस्या नहोस् भन्ने उद्देश्यका साय यो योजना सुरु गरिएको शाहीले बताए । अहिलेलाई सामान्य किसिमले अटो एम्बुलेन्स सञ्चालन गरी बिरामीहरुलाई अस्पतालसम्म पु¥याउने वातावरण मिलाइएको हो । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बिस्तारै अक्सिजनको पूर्ति भए अक्सिजन सहितको अटो एम्बुलेन्स सञ्चालन हुने बताए । ‘हामी बिरामीहरुलाई कसरी बचाउने भन्ने विषयमा निकै गम्भीर भएका छौं,’ नगरप्रमुख वडले भने, ‘अक्सिजनका लागि पहल निकै गरिरहेका छौं । सकेसम्म हामी जनता बचाउने कोसिस गरिरहेका छौं ।’

जिल्लामा निषेधाज्ञा लागू भएसँगै सवारी साधनसमेत नपाइने अवस्था छ । त्यस कारण सवारी साधन अभावमा बिरामीहरु अस्पतालसम्म पनि पुग्न पाइरहेका थिएनन् । रोयल कोलाबोरेटिभ्सले सञ्चालन गरेको अटो एम्बुलेन्सले केही राहत पुगे पनि अक्सिजन अभाव भने कायमै छ । त्यसकारण यहाँको भयाभह अवस्थालाई न्यूनीकरण गर्न सरकार जिम्मेवार बन्न जरुरी छ ।

सम्बन्धित खबरहरु