Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुला

न्युज कारोबार काठमाडौं जेठ २, २०७८       

एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुला

एनएमबी बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत एनएमबी डिबेन्चर (२०८७/८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आइतबारदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।

जसमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ । ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जानकारी गराएको छ । बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म बन्द हुने गरी अवधि तोकिएको छ ।

बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । यससँगै, लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबरहरु