Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेपालगञ्जमा पत्रकार साईको कोरोनाबाट मृत्यु

न्युज कारोबार बाँके जेठ २, २०७८       

नेपालगञ्जमा पत्रकार साईको कोरोनाबाट मृत्यु

नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्ज निवासी स्व. साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका संघसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरिएन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासंघ बाँके तथा पत्रकार निकट संघ संस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ । वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार संक्रमणका कारण ज्यान गुमाउने १०१ महिला र १४१ पुरुष छन् । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको संक्रमणकै कारण मृत्यु भएको छ । जिल्लामा करिब चार हजार सक्रिय संक्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । करिब तीन हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए । (रासस)

सम्बन्धित खबरहरु