Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेपालमा कोरोना महामारी : संक्रमित मात्र होइन, डिस्चार्ज हुने पनि बढ्दैछन्

न्युज कारोबार काठमाडौं वैशाख २६, २०७८       

नेपालमा कोरोना महामारी : संक्रमित मात्र होइन, डिस्चार्ज हुने पनि बढ्दैछन् डिस्चार्ज भएकालाई विराटनगरमा फूलको गुच्छा दिएर बिदाई गरिंँदै । (फाइल तस्बिर)

कोरोनाभाइरस (कोभिड-१९) महामारीको दोस्रो लहरले छिमेकी मुलुक भारतलाई नराम्रोसँग प्रभावित पार्न थालेपछि नेपालमा पनि सन्त्रास बढेको थियो । तर, सचेतनाका व्यवहारिक पक्षलाई वेवास्ता गरियो । खुला सिमाना व्यवस्थान र भारत हुँदै नेपाल भित्रिएकाहरुको स्वास्थ्य परीक्षणमा तदरुकता दिइएन । फलस्वरुप, नेपाल पनि कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनिसकेको छ ।

पछिल्लो केही हप्तायता संक्रमित र मृतकको संख्या दिनानुदिन बढिरहेको छ । यी दुवै संख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत एक हप्ताको तथ्यांक हेर्दा हालसम्मकै सर्वाधिक एकैदिन ९ हजार २३ जना संक्रमित थपिएका छन् । त्यस्तै ५८ जनाले कोरोनाकै कारण एक दिनमै ज्यान गुमाएको रेकर्ड छ । तथ्यांक मात्र होइन, संक्रमितको उपचारसँग सम्बन्धित समाचारहरु पनि अत्यासलाग्दो छ । अक्सिन र बेड नपाएको, खोप आपूर्ति अनिश्चित बनेको लगायतका निराशाजनक समाचारहरु पनि आइरहेका छन् ।

तर, गत हप्ताकै तथ्यांक हेर्दा पनि नेपालमा कोरोना जित्नेहरुको संख्यामा उत्साहजनक वृद्धि भएको छ । वैशाख ११ गते १ हजार २८७ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । यो संख्या वैशाख २५ गतेसम्म आइपुग्दा करिब ३ गुणा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार शनिबार (वैशाख २५) देशभर ८ हजार २८७ जना संक्रमित थपिँदा ३ हजार ३७० जनाले कोरोना जितेका छन् । यसरी कोरोना जित्नेको संख्या गत हप्ताको पहिलो दिन वैशाख १२ गते आइतबार १ हजार ६१२, सोमबार २ हजार २१, मंगलबार १ हजार ७७५ र बुधबार १ हजार ९९३ जना रहेको छ । संक्रमितको संख्या बढिरहँदा पछिल्लो दुई दिनमा कोरोना जित्नेको संख्या पनि बढ्दो नै छ । बिहीबार २ हजार ७०७ र शुक्रबार २ हजार ९०५ जनाले संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा ३ लाख ८५ हजार ८९० जना व्यक्ति संक्रमित भइसकेका छन् । यसमध्ये २ लाख ९८ हजार ७६५ जनाले कोरोना जितेको मन्त्रालयको तथ्यांकले जनाएको छ । कोरोना जित्नेको यो संख्या ७७.४ प्रतिशत हो । जबकि, विश्वको तथ्यांक हेदो यो प्रतिशत ८५.७ रहेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वभर १५ करोड ८३ लाख ४८ हजार ३०७ जनामा कोरोनाभाइरस संक्रमण पुगिसकेको छ । १३ करोड ५८ लाख २६ हजार ९७६ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी, विश्वका ३२ लाख ९७ हजार ५४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा भने कोरोनाबाट हुने मृत्युदर विश्वको तुलनामा कम छ । हालसम्म नेपालमा कुल संक्रमितकमध्ये ०.९४ प्रतिशतको मृत्यु भएको छ । विश्वमा भने यो दर २.१ प्रतिशत छ ।

सम्बन्धित खबरहरु