Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

कारोनाबाट मृत्यु हुनेका परिवारलाई कर्णाली सरकारले १ लाख दिने 

न्युज कारोबार वीरेन्द्रनगर वैशाख २०, २०७८       

कारोनाबाट मृत्यु हुनेका परिवारलाई कर्णाली सरकारले १ लाख दिने 

कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड-१९) को कारण ज्यान गुमाउनेहरुका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक कार्यविधि निर्माण गरी विपद् व्यवस्थापन कोषबाट राहतस्वरुप एकलाख रुपैयाँ दिने भएको हो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तरगतका दशवटै जिल्लामा एक/एक करोड रूपैयाँका दरले बजेट उपलब्ध गर्ने भएको छ भने कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा पनि एक/एक करोड बजेट पठाउने निर्णय भएको हो । मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख पठाइने सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् । 

बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले पाँच जिल्लामा अक्सिजनसहित १०० बेड तयार गर्नेगरी काम थालेको छ । प्रवक्ता केसीका अनुसार कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा अक्सिजनसहित १०० बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित ५०० बेडको तयार गर्ने लक्ष्य अनुसार अघि बढेको र तत्काल १०० बेड थप्ने काममा तीव्रता दिइएको प्रदे सरकारले जनाएको छ ।

यस्तै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभामा पेश गर्न चार विधेयकलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ‘प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक, ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताइन् । ‘कर्णाली प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धी विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र ‘प्रदेश सुशासन प्रवर्द्धन केन्द्र (स्थापना र सञ्चालन) विधेयक,’ २०७८ प्रदेशसभामा दर्ता गर्ने निर्णय भएको उनले सुनाइन् । प्रवक्ता केसीले डोल्पाकाे ठूलो भेरी नगरपालिकाको वडा संख्या र सिमाना हेरफेर गर्न नेपाल सरकारसमक्ष पठाउने निर्णय भएको समेत बताइन् ।

बैठकले २०७८ मा दिने सार्वजनिक बिदाहरु जस्तोः चैत १२ र असार १५ धान दिवस, साउन १ गते देउडा/साउने संक्रान्ति पर्व, भाद्र ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भाद्र १४ गते श्रीकृष्णजन्माष्टमी, कार्तिक ३ गते असोज शुक्ल पूर्णिमा र असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिंगाे बोक्ने दिनलाई सार्वजनिक बिदा दिने गरी सरकारले निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु