Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

वैशाख २७ गते विश्वासको मत लिदै प्रधानमन्त्री ओली

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

वैशाख २७ गते विश्वासको मत लिदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिने भएका छन् । कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेको र माओवादीले पनि सरकारबाट समर्थन फिर्ता नलिएकै अवस्थामा प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनासाथ प्रधानमन्त्री ओली आइतबार राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका थिए । शीतलनिवासबाट बालुवाटारमा फर्केर क्याबिनेट बैठक राखेका प्रधानमन्त्री ओलीले एकाएक संसदबाट विश्वासको मत लिने घोषणा गरे । 
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत छैन । एमालेसँग १२१ सिट छ । त्यसमध्ये माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्ने वा मतदान नगर्ने अवस्था छ । जसपाको सिंगो मत आफूतिर नआउने भएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छैन ।

प्रधानमन्त्रीले विश्वासको मत पाएनन् भने पनि विपक्षी गठबन्धनलाई सरकार बनाउने बहुमत पुर्‍याउनका लागि सिंगै जसपाको साथ आवश्यक पर्दछ । जसपाको एउटा घटकले ओलीलाई सघाउने र अर्को घटकले विपक्षीलाई सघाउने स्थिति रहँदासम्म कसैको पनि सरकार नबन्ने अवस्था आउन सक्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् भने सरकार ढल्छ । तर, संविधानको अर्को प्रावधानअनुसार ठूलो दलले सरकारमा दाबी गर्न पाउँछ । त्यो अवस्थामा नेकपा एमाले नै संसदको सबैभन्दा ठूलो दलका रुपमा कायम रहनेछ ।

सम्बन्धित खबरहरु