Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

भरिन थाले कर्णालीका अस्पताल

सीता वली वीरेन्द्रनगर वैशाख १८, २०७८       

भरिन थाले कर्णालीका अस्पताल

वीरेन्द्रनगर- ४, कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कोरोनाभाइरस (कोभिड- १९)का ३५ जना संक्रमित उपचाररत छन् । सबै संक्रमितलाई अक्सिजन लगाएर राख्नुपरेको छ । तर अस्पतालमा बेड भने २५ वटा मात्रै छन् । दैनिक कोरोना संक्रमितको संख्या बढ्दो छ । अस्पतालमा भर्ना हुनेहरुको संख्यासमेत बढेको बढ्यै छ । तत्काल कोही अस्पतालमा भर्ना हुनुपरे बेड छैन । बेड थप गर्नका लागि अस्पतालले तयारी गरेको छ । आइतबारसम्म एकसय बेडसम्म पुर्‍याउने तयारी अस्पतालले गरेको कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । 

आइसीयू कक्षमा २५ वटा मात्रै बेड भएको उनले बताए । उनका अनुसार अस्पतालमा दैनिक ६० देखि ७० वटासम्म अक्सिजनको सिलिन्डर आवश्यक पर्छ । अस्पतालमा अक्सिजन प्लाण्ट भए पनि सिलिण्डर भर्न नमिल्ने उनले जानकारी दिए । कोरोना भाइरसका संक्रमित दैनिक बढ्ने क्रम रहेको र अस्पतालमा भर्ना हुनेहरुको संख्यासमेत बढेकाले निकट भविष्यमा अक्सिजनको अभाव हुने उनले सुनाए ।

चौरजहारी अस्पताल रुकुम पश्चिमलाई समेत सरकारले कोरोना अस्पताल तोकेको छ । तर अस्पतालमा जटिल किसिमका कोरोना संक्रमित भर्ना भए भने प्रदेश प्रदेश अस्पतालमै रिफर गर्नुपर्छ । जिल्ला अस्पताल रुकुम पचिश्मका कोरोना फोकल पर्सन इश्वर रावलले हाल १ सय ५ संक्रमित भएकोमा ५ जना प्रदेश अस्पताल सुर्खेत रिफर भएको बताए । ९ जना आइसोलेसनमा रहेको र बाँकी सबै होमआइसोलेसनमा रहेको उनले जानकारी दिए । रावलले जिल्ला अस्पतालमा जम्मा ४ र चौरजहारीमा ५ वटा मात्रै अक्सिजन सिलिण्डर भए पनि भर्न समस्या भएको बताए । तीसवटा बेड आइसोलेसनका भए पनि आइसीयू र भेन्टिलेटर भने नभएको उनले बताए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २४ बेड छन् । अस्पतालमा अहिले ७ जना कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका डाइरेक्टर राजीव शाह भन्छन्, ‘तत्काल अक्सिजनको अभाव त छैन तर निकट भविष्यमा हुनसक्छ । अक्सिजन प्लाण्ट सञ्चालन गर्न विद्युतीय अवरोध छ ।’ तत्काल बेडको अभाव नभए पनि भविष्यमा हुनसक्ने अभाव टार्न सजक रहेको बताए । शाहका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईसय अक्सिजन सिलिण्डर रहेका छन् । अझै दुई/तीन महिनालाई पुग्नेगरी अक्सिजन स्टक राख्ने तयारी भएको उनले जनाए ।

प्रदेश सरकारले समेत प्रदेश अस्पतालमा दुईसय बेडसम्म आइसीयू कक्ष बनाउने तयारी गरेको बताएको छ । सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री बिमला केसीले दुईसय बेडसम्म आइसीयू कक्ष बनाउने तयारी सरकारले गरेको बताएकी छन् ।

कर्णाली प्रदेश अस्पतालले दशवटा जिल्लाका बिरामीको चाप खेप्नुपर्छ । अन्य जिल्लामा जटिल भएका बिरामी प्रदेश अस्पतालमा रिफर भएर आउने गर्छन् । त्यसैले समयमै प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन, आइसीयू बेड तथा भेन्टिलेर कक्ष थप्न जरुरी छ । 

कसको निगरानीमा छन् होमआइसोलेनका संक्रमित ?

कर्णाली प्रदेशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या शुक्रबार सम्म १३ सय ९३ पुगेको छ । जसमध्ये ११ सय ४९ संक्रमित होमआइसोलेसनमा छन् । जम्मा २ सय ४४ संक्रमित मात्रै विभिन्न अस्पतालले निर्माण गरेका आइसोलेसन तथा अस्पतालका आइसीयूमा रहेका छन् । होमआइसोलेसनमा रहेको संक्रमितमध्ये ७ सय ४७ जना सुर्खेतमा छन् । जसमा ७ सय ३७ जना वीरेन्द्रनगर नगरपालिकाका हुन् । बाँकी १० जना गुर्भाकोट होमआइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । तर यतिका संक्रमितहरु कसको निगरानीमा छन् ? यो गम्भिर प्रश्न हो । उनीहरु घरमै सुरक्षित बसेका छन् वा संक्रमण फैलाउँदै हिँडेका छन् । उनीहरुको स्वास्थय अवस्थाबारे कसले चिन्ता गरेको छ ? 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रबिन खड्काले होमआइसोलेसनमा बसेकाहरलाई टेलिमेडिसिन सेवा उपलब्ध गराएको जानकारी दिए । होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सल्लाह दिनलाई ९८५८०७०२४६ र ९८५८०७०२४८ तथा ९८०२५५८८२५ नं चौबिसै घण्टा खुला रहने उनले बताए । उनले होमआइसोलेसनमा बसेकाहरुलाई अप्ठ्यारो परे तुरुन्त अस्पतालमा आउनसमेत उनले सुझाव दिए ।

समुदाय स्तरमा उनीहरु सुरक्षित बसे/नबसेको अनुगमन गर्ने निकाय भने अहिले सक्रिय छैन । कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको निगरानीका लागि सामाजिक विकास मन्त्रालयमा एउटा सीआईसीटी टिम बनेको थियो । अहिले उक्त टिम सक्रिय नभएको खड्काले बताए । सम्बन्धित स्थानीय तहमा स्वास्थय संयोजकको अध्यक्षतामा बनेको टिमले नै होमआइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरे पनि उक्त टिम अहिले सक्रिय नभएको उनले बताए । अहिले समुदाय स्तरमा कोरोनाभाइरस तीव्र रुपमा फैलिएको छ । संक्रमितमध्ये करिब ८२ प्रतिशत होमआइसोलेसनमा रहेका छन् ।

समुदाय स्तरमा उनीहरु सुरक्षित बसे÷नबसेको अनुगमन गर्ने निकाय भने अहिले सक्रिय छैन । कन्ट्रयाक टे«सिङमा परेकाहरुको निगरानीका लागि सामाजिक विकास मन्त्रालयमा एउटा सीआईसीटी टिम बनेको थियो । अहिले उक्त टिम सक्रिय नभएको खड्काले बताए । सम्बन्धित स्थानीय तहमा स्वास्थय संयोजकको अध्यक्षतामा बनेको टिमले नै होमआइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरे पनि उक्त टिम अहिले सक्रिय नभएको उनले बताए । अहिले समुदाय स्तरमा कोरोनाभाइरस तीव्र रुपमा फैलिएको छ । संक्रमितमध्ये करिब ८२ प्रतिशत होमआइसोलेसनमा रहेका छन् ।

सम्बन्धित खबरहरु