Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

कालीपुल बसपार्कमा होल्डिङ सेन्टर सञ्चालन

न्युज कारोबार म्याग्दी वैशाख १८, २०७८       

कालीपुल बसपार्कमा होल्डिङ सेन्टर सञ्चालन फाइल तस्बिर

म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डिङ सेन्टर सञ्चालन भएको छ । फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालीपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधिसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइने छ ।

कोरोना फैलिएका जिल्ला र सहरबाट आउनेहरू सिधै गाउँमा पुगेर क्वारेन्टिनमा नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा कोरोना फैलने खतरा देखिएपछि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर ब्युँताउँने निर्णय गरेको थियो । यसअघि गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर सञ्चालन भएको थियो । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहका एकएक जना कर्मचारी खटिएका छन् । कालीपुलको चेक पोष्टबाट भित्र्ने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । शुक्रबार म्याग्दीमा थप ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ४८ जना थियो । (रासस)

सम्बन्धित खबरहरु