Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) निष्काशन हुने

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

भोलिदेखि सीइडीबी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) निष्काशन हुने

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ । यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकसन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका-०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालू आवमा प्रति सेयर आम्दानी १३.०५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०:३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर शुक्रबारदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले शुक्रबारदेखि नै सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण सेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

सम्बन्धित खबरहरु