गृहपृष्ठ कोरोना महामारी : बेहाल छन् भारतमा रहेका नेपाली
कोरोना महामारी : बेहाल छन् भारतमा रहेका नेपाली
भारतको राजधानी नयाँ दिल्लीमा बस्ने मनोज भट्टलाई एक साताअघि कोभिड- १९ संक्रमण भयो । भट्ट सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष हुन् । पहाड बैतडी र तराई धनगढी घर भएका उनलाई कोभिड संक्रमण भएपछि दिल्लीका दर्जनौँ अस्पताल लगियो । तर, बेड पाइएन ।
सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लका अनुसार भट्टलाई कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । ‘दिल्लीको अस्पतालमा बेड नै खाली थिएनन्, उपचारका लागि कञ्चनपुरको महाकाली अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भयो,’ मल्लले भने ।
दिल्लीमा अक्सिजन सहायतामा उपचार नपाएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा भट्टको मृत्यु भएको हो । बाजुराको बुढीगंगा नगरपालिका– ७, झालीका ३४ वर्षीय शंकर कटुवालको पनि कोभिड संक्रमणबाट भारतमा मृत्यु भएको छ । भारतका दुईवटा अस्पताल लैजाँदा पनि उनको प्राण जोगिन सकेन । मृतक कटुवाल जनमुक्ति सेनाका पूर्वलडाकूसमेत हुन् । मंगलबार त्रिनगर-गौरीफन्टा नाकामा भारतको दिल्लीबाट स्वदेश फर्किँदै गरेका डोटीका इन्द्र भुलले भने, ‘दिल्लीमा भारतीय नागरिककै उपचारका लागि समस्या छ, नेपाली संक्रमितले उपचार पाउने सम्भावना नै छैन । अस्पताल चहार्दाचहार्दै ज्यान जान्छ ।’ उनका अनुसार भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन तीन तहकै सरकारले पहल गर्नुपर्ने देखिन्छ । तर, यस्तो प्रयास नभएकोप्रति उनले गुनासो गरे ।
सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले पनि भारतमा रहेका संक्रमित नेपालीहरुको अवस्था कठिनाइपूर्ण बनिरहेको बताए । ‘भारतमा दैनिक साढे तीन लाख संक्रमित थप भइरहेका छन्,’ उनले भने, ‘त्यहाँका नागरिक नै उपचार नपाएर ज्यान गुमाइरहेका छन् । त्यस्तो अवस्थामा नेपालीले उपचार पाउने सम्भावना नै छैन ।’ भट्टका अनुसार कोभिड संक्रमित नेपालीले भारतका अस्पतालमा भर्ना नै पाइरहेका छैनन् । भारतमा संक्रमितले उपचार नै नपाउने समस्या भएपछि कैलालीको त्रिनगर-गौरीफन्टा नाका भएर स्वदेश फर्कने नेपालीको घुइँचो छ । त्रिनगर-गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार पछिल्लो ७० दिनमा त्रिनगर नाका भएर झण्डै ३७ हजार नेपाली स्वदेश फर्किएका छन् ।
सोही अवधिमा भारतबाट फर्किएकामध्ये १४ हजारको एन्टिजेन परीक्षण गर्दा १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको छ । स्वदेश फर्किएकामध्ये झण्डै ६० प्रतिशत अर्थात् २२ हजार नेपाली भने परीक्षणबिनै घर पुगेका छन् । भारतमा कोभिड संक्रमितले उपचार नपाउने भएपछि जन्मभूमि फर्किरहेका नेपाली यहाँ पनि सुरक्षित छैनन् । पछिल्लो दुई महिनामा कोभिडाबाट बच्न भारतबाट सुदूरपश्चिम फर्किएका १० जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा गम्भीर प्रकृतिका कोभिड संक्रमितको उपचारका लागि जनशक्ति र उपकरणको चरम अभाव छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशमा १९ वटा भेन्टिलेटर र २७ शय्याको आईसीयू मात्र उपलब्ध रहेको जानकारी दिए । उनले भने, ‘पहाडी जिल्लामा भएका उपकरण पनि चल्न सकेका छैनन् । जनशक्तिको व्यवस्थापनमा हामी जुटेका छौँ ।’
प्रकाशित समय : १८:५७ बजे