Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

झिसमिसेदेखि सहर छाड्नेको ताँती

न्युज कारोबार काठमाडौं वैशाख १४, २०७८       

झिसमिसेदेखि सहर छाड्नेको ताँती

मंगलबार अपरान्ह चारबजे सुर्खेत बसपार्कमा दसैंको झल्को दिनेगरी भिड देखिन्थ्यो । ठूला-ठूला लगेजसहित बसपार्कमा टिकटका लागि दौडधूप गर्नेको ठूलै भिड थियो । साना बालबालिका, युवा र वृद्धवृद्धाहरु कोही थकित अनुहार लगाएर बसेका र कोही गाडी चढ्ने तर्खरमा थिए । बाहिरबाट झट्ट हेर्दा यस्तो लाग्थ्यो, महान पर्व नजिकै आइरहेको छ । 

त्यही भिडमा भेटिए नौमुले गाउँपालिका ४ दैलेखका सुरेश थापा मगर । उनी कामको सिलसिलामा नेपालगञ्जमा बस्दै आएका थिए । कोरोना भाइरस (कोभिड- १९)को संक्रमण अत्याधिक बढेपछि उनी घर जानलाई सोमबार नै नेपालगञ्जबाट हिँडे । तर उनी मंगलबारसम्म सुर्खेत बसपार्कमै अलमलिएका थिए । ‘आज बिहानै सात बजेदेखि बस कुरेको हो,’ उनले भने, ‘तर अहिलेसम्म सिट पाएको छैन ।’ रातसम्म भए पनि सवारी साधन पाएपछि सुर्खेतको सिमाना काट्ने तयारी सुरेशको छ । कहिलेसम्म निषेधाज्ञा हुन्छ, अन्यौल भएपछि घरमै गएर बस्ने निधो सुरेशले गरेका हुन् ।  उनीसँगै कामको सिलसिलामा गएका सोही गाउँका अन्य युवाहरु पनि बसपार्कमै रुमलिएका थिए । सामान्य पढाईलेखाई भएका २१ वर्षीय सुरेश नेपालगञ्मा बसेर ग्यारेजमा काम गर्दै आएका थिए ।

पलाता गाउँपालिका ३ कालिकोटकी कविला शाहीले समेत घर जानको लागि बसपार्कमा कुरेको आठ घण्टासम्म पनि सिट पाइनन् । ‘हिजोअस्ति पनि बसमा सिट नपाएर नगएकी हुँ । आज त जसरी पनि जानुपर्छ,’ उनी भन्दै थिइन् । अध्ययनको लागि भाडामा बस्दै आएकी कविला कोराना भाइरसको महामारी झनै फैलिने त्रासले घर जान थालेकी हुन् । ‘समस्या जटिल हुँदै गएको छ,’ उनले सुनाइन्, ‘नागरिकहरुको यही लापरबाहीले निषेधाज्ञा जति पनि थपिन सक्छ ।’ उनले अहिलेदेखि नै बजारमा खाद्य सामग्रीको कृत्रिम अभाव भएको भन्दै भोकै मर्नुभन्दा घर जानु बेश भएको बताइन् । 

बजारमा किनमेलमै व्यस्त भिड 

मंगलबार बसपार्कमा जस्तै वीरेन्द्रनगर बजारमा पनि भिडभाड थियो । यो कुनै यात्राको लागि नभई किनमेलको भिड थियो । एकसाताका लागि निषेधाज्ञाको सूचना पाएलगत्तै बजारमा किनमेल गर्नेको भिड अत्याधिक बढेको हो । निषेधाज्ञामा सामान नपाइने, पाइए पनि महँगो हुने र घरबाहिर निस्कन नपाइने भएपछि बजारमा भिड लागेको हो । खाद्य, कपडा तथा अन्य पसलहरुमा उपभोक्ताको भिड थामिनक्नु देखिन्थ्यो । 

व्यापारी केशर खत्रीले निषेधाज्ञा जारी हुने निर्णय भएपछि अत्याधिक सामानहरु बिक्री भएको बताए । विशेषगरी खाद्य सामग्रीहरु बढी बिक्री भएको उनले सुनाए । खत्रीका अनुसार निषेधाज्ञा बढ्न पनि सक्ने भएकाले नागरिकहरुले सामान खरिद गरी राखेका हुन् । स्वास्थय सुरक्षाको मापदण्ड प्रयोग नगरीकनै बजार घुम्नेहरुको भिड पनि कम थिएन । 

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण अत्याधिक बढ्न थालेपछि सुर्खेत जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यो समयअवधि बढ्न सक्ने सम्भावना छ । मंगलबार राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भए पनि सुर्खेतमा बस्दै आएकाहरु घर फर्किन थालेका हुन् । भने स्थानीय उपभोक्ताहरुले आफूलाई चाहिने सामग्रीहरु खरिद गरी राखेका हुन् । मंगलबार दसैं आएको झल्को दिनेगरी सुर्खेत बसपार्कमा तथा वीरेन्द्रनगर बजार क्षेत्रमा नागरिकको अत्याधिक भिड थियो । 

जिल्ला प्रशासन सुर्खेतले निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ । बैंक, वित्तीय संस्था, सवारी साधन, पसल व्यवसाय सञ्चालन र आवश्यक काम बाहेकको हिँडडुलमा रोक लगाइएको हो । निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम सेवा लगायतका अत्यावश्यक सेवा सञ्चालन हुुनेछन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार भौतिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध र ग्यास पसल भने बिहान ६ देखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताए । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणमा अपिल गरेको छ । निषेधाज्ञा अवधिभर सबै सरकारी कार्यालय बन्द हुनेछन् ।

यस्तै, निषेधाज्ञामा विकास निर्माणका कामहरू भने नरोकिने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यसँगै हवाई सेवा पनि सञ्चालन हुने बताइएको छ । एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला सरकारी गाडी, निलो प्लेटका सवारी साधन, अत्यावश्यकीय सेवा सञ्चालन र त्यसमा खटिने जनशक्तिले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । त्यस्ता व्यक्तिहरूले परिचय-पत्र भने अनिवार्य बोक्नुुपर्ने छ । सुर्खेतमा पछिल्लोसमय कोरोना संक्रमणदर बढ्दो छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा झण्डै पाँचसय कोरोनाका सक्रिय संक्रमित छन् । अत्यावश्यक सामग्रीका लागि बजार खुल्ला गर्ने निर्णय भए पनि नागरिकले भने निषेधाज्ञा हुनुअगावै देखि खाद्य सामग्री खरिदका लागि बजार भिड गरेका हुन् ।

सम्बन्धित खबरहरु