Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

न्युज कारोबार जुम्ला वैशाख १४, २०७८       

छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला छाउगोठ भत्काउँदै प्रहरी र जनप्रतिनिधि ।

जुम्लाको तिला गाउँपालिका- १ का स्थानीयबासी महिला  छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक  कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न  उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । 
 
आमा समूहका सचिव माने रावतले भनिन्, 'अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौ ।' अभियानअन्तर्गत छुई भएका समयमा घरको एक कोठामा राख्न परिवारलाई आग्रह गरिने, पोषिला खानेकुराको आवश्यकताका बारेमा जानकारी बताइने छन् । अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने  चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ  । उनले भने, 'छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो ।'

तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थालेकी थिइन् । अभियान नसकिँदै उनको सरुवा भएको थियो । अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन् । गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ । कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभूत बनाउँदै लगेको स्थानीयवासि गोइली बुढाले बताइन् । उनले भनिन् , 'सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ ।' अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्नथालेको उनले जानकारी दिइन् ।

छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताइन् । उनले भनिन्, 'छुइ प्रथा अभिशाप हो । समाजमा विकृतिका रुपमा जरा गाडेको छ । पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन् । छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको संक्रमण हुने खतरा छ ।' मानिसबाट पनि डराउनुपर्ने अवस्था रहेको महिला नेतृ चौलागाइँले बताइन् । 'गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासँग  बैठक भइरहेका छन् । विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन्,' उनले भनिन् ।

तिला गाउँपालिका- १ देखि ९ सम्म मासिक बैठक भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भनिन्, 'परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ । धामीझाँक्री, सासुससुरा, पुरुष, किशोर किशोरीसँग छलफल भएको छ ।' पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त वनाउने अभियान सुरु भएको उनले जानकारी दिइन् ।

सम्बन्धित खबरहरु