Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

बिदामा के गर्दैछन् विद्यार्थी ?

सीता वली सुर्खेत वैशाख १४, २०७८       

बिदामा के गर्दैछन् विद्यार्थी ?

बिहीबार दिउँसो साढे दुई बजे मिनेटमा वीरेन्द्रनगर ४ भैरवस्थानमा पुग्दा  केही बालबालिकाहरुको समूह खेलिरहेको थियो । वैशाख महिनाको गर्मी मौसममा पनि उनीहरु निस्फिक्री साइकलमा ओहोरदोहोर गरेको देखिन्थ्यो । केही अभिभावकहरु खुद्रा पसलमा काम गरेका देखिन्थे तर बालबालिकाहरु भने सडकमै थिए । उनीहरु कोही लुकाछुपी गर्दै थिए त कोही साइकलमा ओहोरदोहोर गरेका देखिन्थे । कोही खुद्रा पसलबाट खानेकुराहरु किनेर खाँदै पनि थिए । विद्यालयमा कोरोनाको जोखिम बढेसँगै विद्यालय बन्द भए पनि बालबालिकाहरु भने सडकमा झुण्ड बनाएर खेलेको देखिन्थ्यो ।

दिउँसोको समयमा सडकमा रमाइरहेकामध्ये एक बिपिन वली पनि थिए । छबि आधारभूत विद्यालय भैरवस्थान ४ मा कक्षा ७ मा अध्ययनरत बिपिनका बुवा रोजगारीका लागि विदेशमा छन् । चिङगाड गाउँपालिका घर भएका बिपिन आमासँग अध्ययनका लागि वीरेन्द्रनगर बस्दै आएका हुन् । ‘पाठ्यक्रम सकिएको छैन,’ उनले भने, ‘दिउँसोमा पढ्न मन लाग्दैन । त्यसैले बाहिर निस्केको ।’ उनले दिउँसो साथीहरुसँग खेल्न घुमे पनि बिहान बेलुकी भने पढ्ने गरेको बताए । कोरोना भाइरसको कारण परीक्षा कहिले हुन्छ उनलाई अन्यौलता छ । अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयबाट कुनै जानकारी नआएको बिपिनले बताए ।

भैरव माद्यमिक विद्यालय परिसरमा केही विद्यार्थीहरु छरिएर बसेका थिए । केही विद्यालयको प्रवेशद्वारबाट बाहिर र भित्र गर्दै थिए । त्यो समूहमा  कक्षा ४ मा अध्ययनरत गणेश बस्याल पनि थिए । उनलाई समेत विद्यालय बन्द भएपछि पढाईमा अन्यौलता आएको महशुस भएको छ । ‘आज विद्यालयमा गेम थियो,’ उनले भने, ‘कराँते खेल खेल्न विद्यालय आएको हुँ ।’ उनले विद्यालय बिदा भएको समयमा घरमा बहिनी खेलाएर दिनभरी बस्नुपरेको बताए । गणेशलाई अनलाइन कक्षाका लागिसमेत समस्या छ । ‘घरमा नेट छैन,’ उनले थपे, ‘मोबाइल पनि छैन नेट पनि छैन ।’ गत वर्षसमेत विद्यालय बन्द भएको सम्झँदै गणेशले बीचमा खुल्ला गरेर किन फेरि बन्द गरेको होला ? भन्दै प्रश्न गरे । उनलाई विद्यालय बन्द भएको खासै राम्रो लागेको छैन । बजार सबै खुल्ला भएपछि विद्यालय मात्रै किन बन्द गरेको होला भन्ने जिज्ञासा गणेशले राखे ।

गणेश र बिपिन जस्तै धेरै बालबालिका अहिले सडकमै छन् । विद्यालय बन्द भए पनि उनीहरुको मन घरमा अडिएको छैन । बजार खुल्ला, सबै कार्यालय खुल्ला भएपछि उनीहरुलाई बन्दको प्रभाव छैन । बुवाआमा कामको लागि कार्यालय जान्छन् तर, बालबालिका सडकमै साथीहरु बटुलेर खेल्नमै व्यस्त देखिन्छन् । यस विषयमा कृष्ण संस्कृत तथा साधारण माद्यमिक विद्यालय इत्रामका प्राचार्य यामलाल घिमिरेले विद्यार्थीहरुलाई अनलाइन कक्षाको पहुँच नभएको बताए । ‘अघिल्लो वर्ष पनि अनलाइन कक्षा सञ्चालन गरेकै हो,’ उनले भने, ‘बीस प्रतिशतभन्दा बढी विद्यार्थीलाई सहभागी गराउन सकिएन ।’ कक्षा ५ भन्दा तलका बालबाबालिकाहरुलाई अनलाइन कक्षामा सहभागी नै गराउन नसकिने उनले बताए । अभिभावकहरुलाई फोन गरेरै केही समय पढाउनुस् भनेर भन्ने गरेको घिमिरेले सुनाए । कक्षा ५ भन्दा माथिका बालबालिकाहरुलाई कसरी अनलाइन कक्षामा पढाउने भन्ने विषयमा विद्यालयमा छलफल भइरहेको उनले जानकारी दिए ।

अमरज्योती नमूना माद्यमिक विद्यालयका प्राचार्य खगेन्द्र थापाले समेत अनलाइन कक्षामा धेरै विद्यार्थीहरुको पहुँच नभएको बताए । ‘विद्यार्थीसँग मोबाइल नै हुँदैन,’ उनले भने, ‘आफ्ना बुवाआमासँग कुरा गर्ने फोन नभएका बच्चाहरुले कसरी अनलाइन कक्षा लिन सक्छन् ? थापाले विद्यालयले अघिल्लो वर्षदेखि नै अनलाइन कक्षा सञ्चालन गरेर अध्ययन अध्यापनको कार्य गराउँदै आएको सुनाए । कहिले बन्द गर र कहिले भद्रगोल गर भन्ने सरकारको नीति देखेरै आफूहरु आजित भएको उनले बताए । अधिकांश कोर्ष सकिएको भन्दै थापाले भौतिक दुरी कायम गरी २० जनाको मात्रै समूह भए पनि विद्यार्थीलाई अध्यापन गराउन  सकिने बताए । हाल विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएपछि विद्यालय बन्द रहेको उनले जानकारी दिए । 

भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ । यसबाट कर्णाली प्रदेशसमेत अुछतो छैन । सुर्खेतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै विद्यालयहरु बन्द गरिएको छ । जोखिमबाट बालबालिकाहरुलाई जोगाउनको लागि विद्यालय बन्द गरिए पनि बालबालिकाहरु भने सडकमै छन् । अनलाइन कक्षासमेत सञ्चालन गर्ने भनिए पनि उनीहरुको पहुँच छैन । बालबालिकाहरुको सिकाईप्रति अभिभावकसमेत जिम्मेवार हुनुपर्ने बेला आएको छ ।

सम्बन्धित खबरहरु