Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

हेटौँडा अस्पतालमा डायलायसिस सेवा सुरु

न्युज कारोबार काठमाडौं वैशाख ५, २०७८       

हेटौँडा अस्पतालमा डायलायसिस सेवा सुरु

हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा सुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले राससलाई जानकारी गराए । उनले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ सयभन्दा बढी मिर्गौला रोगबाट पीडितले डायलायसिस सेवा लिन सम्पर्कमा आइसकेको बताए ।
    
उनका अनुसार रोटरी क्लब अफ हेटौँडाले अबको केही हप्ताभित्रै थप दुई वटा डायलायसिस मेसिन उपलब्ध गराउने भएको छ । मुटु रोगको शल्यक्रिया तथा नवजात शिशुको आपतकालीन उपचारका लागि विशिष्ट कक्षको निर्माण र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको बताइएको छ । यसैगरी आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोगसँग सम्बन्धित उपचार सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा.प्रविण श्रेष्ठले जानकारी दिए ।

‘राजनीति प्रपोगण्डाको लागि पत्रकारितालाई प्रयोग गर्न नहुने’

नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा शनिबार हेटौँडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले राजनीति प्रपोगाण्डाका लागि पत्रकारितालाई प्रयोग गर्न नहुने आवश्यकतामा माथि जोड दिए । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले स्वयं पत्रकार नै राजनीतिक प्रपोगण्डाका लागि प्रयोग भएको कारणबाट राष्ट्रियता र प्रेस स्वतन्त्रतामाथि अतिक्रमण बढ्दै गएको बताए । उनले शान्ति सुरक्षाको उचित प्रबन्ध, भौतिक पूर्वाधार निर्माण र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका जिल्ला प्रचार विभाग प्रमुख कमानसिंह लामाले देशको सार्वभौमिकता र प्रेसको स्वतन्त्रतामाथि बाह्य शक्तिले आँच पुर्‍याउँदै आएकामा अब पत्रकारले मुलुकको पहरेदारका रूपमा सूचना प्रवाह गर्नुपर्ने बताए । महासंघका केन्द्रीय सदस्य सुनिल खड्का र जिल्ला अध्यक्ष मणिराज गौतमले प्रत्येक पत्रकारलाई स्वतन्त्र र व्यावसायिक भूमिकाबाट क्रियाशील हुन आग्रह गर्ने बताए ।

सम्बन्धित खबरहरु