Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

२४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण

न्युज कारोबार काठमाडौं वैशाख १, २०७८       

२४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसीआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा थपिएका कुल संक्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तीमध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जना रहेका छन् । उपचार गराएर घर फर्किनेको संख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।     

तीन जना संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबरहरु