Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार हुने

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार हुने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबारबाट कोरोना संक्रमित बिरामीकाे मात्र उपचार हुने भएकाे छ । कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आजदेखि कोरोना संक्रमितलाई भर्ना लिएर उपचार सेवा दिन थालेको हो । अस्पतालमा हाल १८ जना कोरोना संक्रमित उपचाररत रहेकाे, त्यसमध्ये ११ जनालाई आईसीयू तथा भेन्टिलेटरमा राखिएकाे छ ।

इन्डोर सर्भिस कोभिडको मात्र सञ्‍चालन गर्ने निर्णय भएकाे निर्देशक डा. राजभण्डारीले बताए । उनले भने, ‘संक्रमित बढिरहेका छन्, अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ । त्यसैले कोभिड बाहेकका बिरामीलाई भर्ना नगर्ने निर्णय गरेका हाैं ।’ अन्य सरुवा रोगका बिरामी भर्ना हुनैपर्ने अवस्थामा आए उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने निर्णय भएकाे उनले बताए ।

सम्बन्धित खबरहरु