गृहपृष्ठ सुदूरपश्चिममा आक्रामक बन्दै खनाल-नेपाल समूह
सुदूरपश्चिममा आक्रामक बन्दै खनाल-नेपाल समूह
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादीलाई पूर्ववत अवस्थामै पुर्याइदिएपछि केन्द्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले छुट्टा-छुट्टै कमिटी निर्माण थालेसँगै सुदूरपश्चिममा पनि दुवै पक्षले छुट्टै कमिटी बनाउन थालेका छन् ।
ओली समूहले माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई प्रदेश संयोजक तोकेसँगै माधव समूह प्रतिवादमा उत्रिएको हो । माधव समूहका सुदूरपश्चिम संयोजक भिम रावलले समानान्तर कमिटी गठन गर्दै प्रदेशका ९ वटै जिल्लामा आफू निकटका अध्यक्ष तथा पदाधिकारीसमेत तोकेका छन् । यससँगै अब स्थानीय तहदेखि वडासम्म आफ्ना कमिटी निर्माण गर्ने सो समूहले बताएको छ ।
तत्कालीन एमाले हुँदा सुदूरपश्चिम प्रदेशको संयोजक भिम रावल र कर्ण थापा सहसंयोजक थिए । नेकपा बनिसके पनि रावल इन्चार्ज र थापा अध्यक्ष भए । माओवादी केन्द्रबाट २ जना र १ जना एमालेबाट गरी ३ जना सहइन्चार्ज थिए । केन्द्रजस्तै सुदूरपश्चिममा पनि विगतबाटै स्पष्ट २ गुट थिए । ओली निकटका थापा र माधव निकटका रावलबिच बाहिर धेरै नदेखिए पनि आन्तरिक रुपमा द्वन्द्व थियो । तर यो आन्तरिक कलह भने अहिले स्पष्ट बाहिर आएको छ । ओली समूहका अध्यक्ष थापाले रावललाई कारबाहीका लागि सिफारिस गरेका थिए भने रावलले प्रदेशको बैठकबाट थापालाई कारबाही गरेका छन् । दुवै पक्ष एक अर्कालाई अवैधानिक भन्दै आफूहरु मात्र वैधानिक भएको दावी पनि गरिरहेका छन् ।
माधव नेपाल समूहका प्रदेश संयोजकसमेत रहेका रावलले अवैधानिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्न नपाउने तर्क गरे । उनले भने, ‘बालुवाटारको सरकारी निवासमा आफूनिकटका केही नेता बोलाएर प्रधानमन्त्री ओलीले आफँैलाई अवैधानिक अध्यक्ष बनाइसके पनि मलाई कुन अधिकार प्रयोग गरेर कारबाही गर्नुभयो ।’ एउटा अध्यक्ष र महासचिवलाई राखेर महाधिवेशन आयोजक कमिटी बनाइसकेपछि कुन आधारमा गरिएको कारबाहीको नाटकको जवाफ आलीले दिनुपर्ने नेता रावलले बताए ।
रावलले आफू निकटका नेताहरुको उपस्थितिमा प्रदेशको बैठक राखी ओली निकटका नेताहरुलाई कारबाही गर्दै आफू निकटका नेताहरुलाई जिल्लाको नेतृत्व दिएका छन् । कञ्चनपुरको जिल्ला अध्यक्षमा तारालामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई चयन गरिएको प्रदेश कमिटीले जनाएको छ । यस्तै बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ । अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ भने रिक्त पदमा पूर्ति गर्न जिल्ला कमिटीलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दिलबहादुर सिंह र अछाममा शेरबहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश कमिटीले जनाएको छ । नौ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनलाई पनि पुनर्गठन गर्न निर्देशन दिइएको पार्टीका सुदूरपीश्चम इञ्चार्ज भीम रावलले जानकारी दिए । वैशाखदेखि असार १५ सम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णयसमेत भएको रावलले बताए ।
पत्रकार सम्मेलन गर्दै पार्टी बैठकबाट गरिएका निर्णय सुनाउँदै रावलले प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाए । ओलीले नक्साको विषयदेखि राष्ट्रघात र जनता ठग्ने काम मात्रै गरेको रावलको आरोप थियो । रावलले राष्ट्रपतिबाट विभूषित गरिएका तक्मामा समेत नेपालको नक्साको चुच्चो हटाएर केही दिनका लागि ओलीले देखाएको राष्ट्रवाद खोक्रो राष्ट्रवादमा परिणत भएको बताए ।
पार्टीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाइ मनलाग्दी हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको रावलले जिकिर गरे ।
प्रकाशित समय : ००:४० बजे