Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

बागलुङमा पाँच किलोमिटर लामो सिँचाइ कुलो निर्माण

न्युज कारोबार बागलुङ चैत २७, २०७७       

बागलुङमा पाँच किलोमिटर लामो सिँचाइ कुलो निर्माण

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो । गत वर्ष सुरूवात भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झन्डै ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । साविक रेश गाउँविकास समितिको वडा नं ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३.५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाख रूपैयाँमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झन्डै २०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाले बताए । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको यो आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिने छ । सांखोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा अर्को ठूलो आयोजना डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा ४०० मिटर र चालु आर्थिक वर्षमा ६०० मिटर निर्माण गरिएको हो । चालीस हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पुर्‍याउन गण्डकी प्रदेश सरकारको ५४ लाख रूपैयाँ अनुदानमा आयोजना निर्माण भएको हो ।

काठेखोला गाउँपालिकाको ५० लाख रूपैयाँ अनुदानमा सांखोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको यो आयोजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ हुनेछ । आठ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले बताए । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिचाइ आयोजना निर्माण गरेको छ । झन्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाको लागि वडा कार्यालयले सात लाख रूपैयाँ खर्चेको छ ।

'खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्ने छ,' स्थानीय युवराज गौतमले भने, 'रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।' पानीको प्रसस्तै स्रोत रहेको रेशमा सिँचाइ कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हराभरा हुने अध्यक्ष लामिछानेले बताए । 'अब रेशको तल्ला फाँटमा तीनखेती हुन्छ, माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ,' उनले भने, 'हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।' वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पुर्‍याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ । (रासस)

सम्बन्धित खबरहरु