Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

काम नपरी बाहिर ननिस्कन आग्रह 

न्युज कारोबार वीरेन्द्रनगर चैत २५, २०७७       

काम नपरी बाहिर ननिस्कन आग्रह 

काम नपरी बाहिर ननिस्कन नागरिकलाई प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार विज्ञप्ति निकालेर नागरिकहरुलाई यस्तो आग्रह गरेको हो । वायु प्रदुषणको स्तर बढ्दै गएकोले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनकाे आग्रह छ ।

केटाकेटी, वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नसमेत आग्रह गरिएको छ । पछिल्लो समय वायु प्रदुषणको दर बढेका कारण सास फेर्न समस्या हुने, आँखा पोल्ने, नाक सुख्खा हुने लगायतका समस्या देखिएकाले त्यसबाट बच्न चिकित्सकहरुले समेत आग्रह गरेका छन् । प्रदुषणबाट बच्नको लागि सकेसम्म घरभित्रै बस्ने, खानपिनमा ध्यान दिने, केटाकेटी र वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नको लागि प्रशासनले आग्रह गरेको हो । त्यस्तै पछिल्लो समय आगलागीका घटनाहरु समेत बढेकाले यस्ता कार्य नगर्न र नगराउनको लागि प्रशासनले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

साथै मंगलबार नै जिल्ला कोरोना विपद् व्यवस्थापन केन्द्र सुर्खेतको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले नाकाहरुमा कडाई गर्ने, मेला, महोत्सवजस्ता भेला नगर्ने नगराउने, चाडपर्वमा भिडभाड नगर्ने, कोरोना भाइरसको संक्रमण रोकथामका लागि सचेतनामुलक सूचनाहरु सञ्चारमाध्यमबाट प्रसारण गर्ने लगायतका निर्णय गरेको हो । त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई अनिवार्य दश दिन होम क्वारेन्टिनमा बस्नुपर्ने लगायतका निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु