Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

खस सभ्यता जोगाउन सिंजामा संग्रहालय बन्दै

न्युज कारोबार वीरेन्द्रनगर चैत २५, २०७७       

खस सभ्यता जोगाउन सिंजामा संग्रहालय बन्दै

जुम्लाको सिंजा गाउँपालिकामा खस सभ्यता संग्रहालय बन्ने भएको छ । संग्रहायका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको हो । परम्परागत रुपमा सिंजामा पाइने विभिन्न वस्तुहरुलाई संग्रहालयमा राख्ने तयारी गरिएको छ ।

संग्रहालय निर्माणका लागि संघीय सरकार तथा स्थानीय सरकारले बजेटको जोहो गरेको सिंजा सभ्यता खस संग्रहालय उपभोक्ता समितिका अध्यक्ष देवीकृष्ण तिवारीले जानकारी दिए । सिंजा गाउँपालिका वडा नं २ मा उक्त संग्रहालय निर्माण गर्न लागिएको हो । 

आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारबाट ५० लाख रकम आएको अध्यक्ष तिवारीले जानकारी दिए । उनका अनुसार सिंजा गाउँपालिकाले समेत आर्थिक वर्ष २०७५/७६ मा २५ लाख रकम विनियोजन गरेको छ । ‘संग्राहालयका लागि दुईवटा भवन निर्माणको काम हुँदै छ । पर्खालको काम समेत सँगसँगै अगाडि बढाएका छौं,’ उनले भने ।

उनले सिंजा क्षेत्र खस भाषाको उद्गमस्थल समेत रहेकाले थुप्रै परम्परागत वस्तुहरु संग्रहालयमा राखिने जानकारी दिए । उनका अनुसार पुरानो हलो, डोको, नाम्लो, स्याँकु, दोचा, राडिपाखी, छाप्री, खुर्पेटो लगायतका थुप्रै चिजहरु संग्रहालयमा राख्ने उनले बताए । ‘सिंजामा थुप्रै परम्परागत वस्तुहरु पाउन सकिन्छ,’ उनले थपे, ‘लोप हुने अवस्थामा भएका पुराना वस्तुहरुलाई संग्रहालयमा राख्ने तयारी छ ।’ उनले पुराना वस्तुहरुलाई पछिल्लो पुस्ताका लागि संरक्षण गर्ने माध्यम भनेकै संग्रहालय भएको बताए । खस भाषाको पुस्तक लगायतका अन्य सामग्रीहरु समेत सो स्थानमा राखिने उनले बताए ।

कर्णाली प्रदेशका जुम्ला जिल्लामा पर्ने सिंजा क्षेत्र खस भाषाको उद्गम स्थल हो । जसको संरक्षणका लागि पछिल्लो समय थुप्रै व्यक्तिहरु लागेको अवस्था छ । संघीय सरकारदेखि स्थानीय सरकारले समेत यसको संरक्षणमा लागेका छन् ।

सिंजा गाँउपालिकाका अध्यक्ष देवलसिं रावलले सिंजाको सभ्यता देशभर नै परिचित गराउनको लागि संग्रहालय स्थापना गर्न लागेको बताए । उनले नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा गाउँपालिकामा थुप्रै परम्परागत संस्कारहरु भएकाले यसको संरक्षणको दायित्व स्थानीय सरकारको पनि रहेको तर्क गरे । ‘संस्कृति संरक्षणमा हाम्रो पनि दायित्व छ । ‘केही संघको सहयोग र केही हाम्रो सहयोगमा संग्रहालय बन्दैछ,’ उनले भने । संग्रहालय निर्माणका लागि आवश्यक पर्ने थप रकमसमेत जुटाउनका लागि आफूहरु लागि परेको उनले बताए । सिंजामा चार–चार कोठे दुईवटा भवन, पर्खाल, निर्माणको काम भइरहेको छ ।

सम्बन्धित खबरहरु