Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

महाकाली अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

महाकाली अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । 'भर्खरै कोरोना संक्रमितको मृत्यु भएकोबारे खबर पाएको छु,' उनले भने, 'अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।'

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मंगलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ । (रासस)

सम्बन्धित खबरहरु