स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड- १९ को संक्रमण बढे पनि आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन- २०२१ काे उद्घाटन गर्दै उनले छिमेकी मुलुकमा कोभिड- १९ को संक्रमण बढे पनि नेपालमा संक्रमण बढ्न नदिने बताए । उनले भारतमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताए ।
उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर संक्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने संक्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि सुरु गरिएको बताए । उनले सञ्चारमाध्यमलाई पनि संक्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे । 'अहिले संक्रमणको कारणले आतंकित हुनुपर्ने अवस्था छैन,' उनले भने 'आतंकित हुनु भनेको संक्रमणलाई बढवा गर्नु हो । आतंकित नभई कोभिड- १९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।' मन्त्री त्रिपाठीले पुनः बन्दाबन्दीको अवस्थामा भने नजाने स्पष्ट पारे । 'हामी फेरि मुलुक बन्दाबन्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ,' उनले भने, 'लकडाउनभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छौँ ।'
उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड- १९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन सुरु गर्ने जानकारी दिए । भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ । सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको भन्दै कोभिड- १९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड- १९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकन लगायतका विषयमा बहस गरिने छ ।