Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

न्युज कारोबार काठमाडौं चैत २४, २०७७       

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरी सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिएका तीनैजना मन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका तर्फबाट सरकारमा सहभागी थिए ।

आर्थिक मामिला तथा योेजनामन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दल रावलले राजीनामा दिएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र दिएलगत्तै उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । देशको राजनीतिक परिस्थितिका कारण दलले गरेको निर्णयलाई आफूहरुले स्वीकार्दै राजीनामा दिएको प्रकाश ज्वालाले बताए । कर्णाली प्रदेशवासीका लागि आफूहरुले ठूलो सपना बुनेको भन्दै ज्वालाले आउने मन्त्रीले त्यो सपना पूरा गर्ने बताए । राजीनामा दिएलगत्तै तीनैजना मन्त्रीले गाडी र   सुरक्षाकर्मीसमेत फिर्ता गरेको जानकारी गराएका थिए । उनीहरु नेकपा एमाले संसदीय दलेको बैठकमा हिँडेरै संसद भवन गएका हुन् ।

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सभामुखसहित २०, नेकपा माओवादीका १३ , नेपाली कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सांसद रहेका छन् । सरकारलाई एमालेले गरेको समर्थन फिर्ता गरेपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।

सम्बन्धित खबरहरु