Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

मुक्तिनाथ विकास बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

न्युज कारोबार काठमाडौं चैत २३, २०७७       

मुक्तिनाथ विकास बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

मुक्तिनाथ विकास बैंक लिमिटेडले एक हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने एक अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४.८५' निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता-पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

एक अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात् ७५ करोड) व्यक्तिगत तवर (private placement) मार्फत् ४० प्रतिशत (५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिने छ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिने छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले अपिल गरेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा हुने आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

सम्बन्धित खबरहरु