Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

कर्णाली प्रदेश सरकार ढल्ने पक्का, एमालेका ३ मन्त्रीले राजीनामा दिँदै

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

कर्णाली प्रदेश सरकार ढल्ने पक्का, एमालेका ३ मन्त्रीले राजीनामा दिँदै

कर्णाली प्रदेश सरकार ढल्ने पक्का भएको छ । आइतबार बसेको नेकपा एमाले संसदीय दलको बैठकपछि कर्णाली प्रदेश सरकार ढल्ने पक्का भएको हो । नेकपा एमालेको तर्फबाट सरकारमा मन्त्री रहेका तीनजना मन्त्रीले चौबीस घण्टाभित्र राजीनामा दिने भएका हुन् । 

प्रदेशको सामाजिक विकासमन्त्री रहेका दल रावल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिने भएका हुन् । बैठकमा सबै मन्त्रीसहित सांसदहरुको सहभागिता रहेको थियो । बैठक सकिएको चौबीस घण्टाभित्रमा मन्त्रीहरुको राजीनामा आउने एक एमालेका एक सांसदले बताए । उनले भने ‘बैठकमा राजीनामाबारे छलफल भएको छ । अब कर्णाली प्रदेश सरकार ढल्ने निश्चित भयो ।’

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बैठकमा सबै सांसदको उपस्थिति रहेको बताए । ‘हाम्रो पार्टीका १९ जना नै बैठकमा सहभागी थियौं । अब विश्वासको मत लिन्छु भन्नु समयको विलम्व हो,’ उनले भने । कँडेलले माओवादी केन्द्रले अर्काको पार्टीका सांसदहरुलाई हाम्रा हुन् भन्न नसुहाउने बताए । नेकपा एमालेलाई केन्द्रमा एकताबद्ध गर्नको लागि अनुरोधसमेत गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

संसदीय दलका सचेतक गुलाबजंग शाहले समेत दलको बैठकमा सबै सांसद उपस्थित भएको बताए । ‘अब मुख्यमन्त्रीले बाटो प्रशस्त गर्नुपर्छ । कर्णालीमा नेकपा एमाले एक भइसकेको छ,’ उनले भने । दलको बैठकमा मुख्यमन्त्रीले बाटो प्रशस्त गर्नेगरी निर्णयसमेत भएको शाहको भनाइ छ । बैठकले दलको विधान संशोधनका लागि सचेतक शाहको अध्यक्षतामा तीन सदस्यीय समितिसमेत गठन गरेको छ । दलको आगामी बैठक चैत्र २४ गते दिउँसो १ बजे बस्ने तय भएको एमालेले जनाएको छ ।

सम्बन्धित खबरहरु