Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

डेडिकेटेड ट्रंकलाइनको १० अर्ब १४ करोड बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन

चैत मसान्तसम्ममा २४० ग्राहकले डेडिकेटेड र ८४ ग्राहकले पाए ट्रंक लाइनमार्फत बिजुलीको अतिरिक्त सुविधा

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

डेडिकेटेड ट्रंकलाइनको १० अर्ब १४ करोड बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले डेडिकेटेड ट्रंकलाइनको १० अर्ब १४ करोड रुपैयाँ बराबर बक्यौता एक महिनाभित्र असुल उपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार बसेको बैठकमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन बुझ्दै समितिले बक्याैताको जरिवाना र ब्याजसहित असुल उपर निर्देशन दिएको हो ।

यसबारे लेखा समितिले कांग्रेस सांसद मीनेन्द्र रिजालको नेतृत्वमा ०७६ साउन ५ गते उपसमिति गठन गरेको थियो । अध्ययन उपसमितिका सदस्य प्रदीप यादवले डेडिकेटेड ट्रंकलाइनको बक्यौता ब्याज र जरिवानासहित असुल उपर गरिनुपर्ने र व्यवसायीले नतिरे उनीहरुलाई कारबाही गर्नुपर्ने बताए । 'बक्यौता ब्याज र जरिवानासहित असुल उपर गरिनुपर्छ । अरुले १६ घण्टा लोडसेडिङ भोग्दा उद्योगहरुले २४सै घण्टा बत्ती बाल्ने गरेको देखिएको छ,' समितिमा उनले भने, 'विद्युत् विनियमावली २०७३ ले महसुल नतिरेको ६० दिनभित्रमा बत्ती काट्नुपर्नेमा अहिलेसम्म बत्ती काटेको देखिँदैन । अदालतले समेत बक्यौता तिर्न भनिसकेकोमा उद्योगीले अटेरी गरे । अब हत्कडी लगाएर भए पनि असुल उपर गरिनुपर्छ ।'

सांसद धर्मशिला चापागाईंले यो देश बिचौलियाले चलाएको हो ? भन्दै समितिमा प्रश्न गरिन् । 'के यो देश बिचौलियाले चलाएको हो ? राम्रोसँग कमाएर खाने र स्वच्छ व्यवसाय गर्नेहरुका लागि त बक्यौता तिर्न पनि समस्या हुँदैन,' उनले भनिन् । सांसदहरु राजन केसी र मोहम्मद इस्तियाक राईले पनि डेडिकेटेड ट्रंकलाइनको बक्यौता ब्याजसहित असुल उपर गरिनुपर्ने धारणा राखे ।

उद्योगी तथा व्यवसायीले आफूहरुले प्रयोग नै नगरेको महसुल नतिर्ने जिकिर गर्दै आएका छन् । प्राधिकरणका अनुसार २०७५ चैत मसान्तसम्ममा २४० ग्राहकले डेडिकेटेड र ८४ ग्राहकले ट्रंक लाइनमार्फत बिजुलीको अतिरिक्त सुविधा लिएका थिए ।

सम्बन्धित खबरहरु