Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

कृषक हाट बजार एप्स सञ्चालनमा 

न्युज कारोबार काठमाडौं चैत २२, २०७७       

कृषक हाट बजार एप्स सञ्चालनमा 

देशको अर्बौँ रुपैयाँ कृषिजन्य आयतमा बाहिरिएको यथार्थलाइ केही भए पनि सुधार गर्न मोबाइलबाट निःशुल्क रूपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप हाट बजार 'Hat bazar' सञ्चालनमा आएको छ ।

यस हाट बजार 'Hat bazar' एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् । यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिन्छ ।

किसानले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागि जग्गा भाडामा लिन-दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ । कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास एप सञ्चालकको छ । जस्तै जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना देश भरी रहेका हाट बजार एप प्रयोग कर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ । हाट बजार एपको प्रयोग कर्ताले आफूलाई चाहिएको सामानहरू आव्हान गर्न सक्छन्, जस्तै, भैँसी किन्न चाहियो, २० केजी टिमुर चाहियो, तरकारी बालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन–दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सकिन्छ ।

यो एपमार्फत किन्ने र बेच्नेहरू नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन-देन गर्न सक्छन् । अरू कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपुर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ । यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफएमहरू सुन्न र सामाजिक संजालमा पनि सेयर गर्न सकिने जस्ता फिचरहरू राखिएका छन् ।

'ट्राभहिल डट कम प्रालिमार्फत ल्याएको यो एपले युवाहरू माझ ‘हामीले उत्पादन मात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुन्छ भनेर हाललाई सामाजिक उत्तरदायित्व प्रडक्टको रूपमा लिएको छौँ' एपका प्रवक्ता सिजर्ल श्रेष्ठले भने । यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध भएकोले निःशुल्क डाउनलोड गरी चलाउन सक्नेछन् ।

सम्बन्धित खबरहरु