Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

कर्णाली सरकार बहुमतमै भएको माओवादी केन्द्रको दाबी 

न्युज कारोबार सुर्खेत चैत २१, २०७७       

कर्णाली सरकार बहुमतमै भएको माओवादी केन्द्रको दाबी 

कर्णाली प्रदेश सरकार बहुमतमै भएको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रमुख सचेतक सीता नेपालीले आफूहरु बहुमतमै भएको दाबी गरेकी हुन् ।

कर्णाली प्रदेश सरकार ढल्ने विषयमा बोल्दै उनले नेकपा एमाले माघव नेपाल पक्षको साथ आफूहरुलाई रहेको बताइन् । ‘अहिलेसम्म मन्त्रीहरुको राजीनामा भएको छैन,’ उनले भनिन्, ‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता भएको होइन ।’ सरकार गठन गर्दा नेकपा एमालेको तर्फबाट १९ जना सांसदले हस्ताक्षर गरेको भन्दै नेपालीले अहिले समर्थन फिर्ता गर्दा १० जना मात्रै सांसदको हस्ताक्षर भएको बताइन् । ‘समर्थन फिर्ताको हस्ताक्षर पनि किर्ते हुनसक्छ,’ उनले थपिन्, ‘त्यो हस्ताक्षरलाई हामीहरुले आधिकारिक मान्दैनौ ।’ दलको बैठकले गत चैत्र ६ गते गरेको निर्णयअनुसार दलको विधान निर्माण गरी पारितसमेत गरेको उनले जानकारी दिइन् ।

बैठकमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति आपत्ति, संसदको कार्य व्यवस्था समितिमा रहेका सांसद धर्मराज रेग्मीले फरक जिम्मेवारी स्वीकारेपछि उनलाई कारबाही गरी उनको स्थानमा सांसद रातो कामीलाई पठाउने निर्णय गरेको नेपालीले बताइन् । उनले माओवादी केन्द्र दैलेखबाट निर्वाचित सांसद रेग्मीले नेकपा एमालेको जिम्मेवारी लिएको कारण उनको पद जाने निश्चित भएको बताइन् । केन्द्रीय कमिटीले स्पष्टिकरण सोधेको र त्यसको जवाफ नआएको कारण सांसद रेग्मी कारवाहीमा परेको उनले जिकिर गरिन् । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले समेत मर्यादित संस्थामाथि संविधान विपरितको काम गरेको उनले आरोप लगाइन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक भोलि बस्दैछ । भोलि नै कर्णाली प्रदेश सरकारमा रहेको एमालेका मन्त्रीहरुले राजीनामा समेत दिने तयारी रहेको सचेतक गुलाबजङ्ग शाहले जानकारी दिए । 

सम्बन्धित खबरहरु