Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

मार्सीको बिउ राख्न पुरुष 'अनिवार्य', परम्परा धान्न घर फर्किए जुम्ली

सीता वली वीरेन्द्रनगर चैत २१, २०७७       

मार्सीको बिउ राख्न पुरुष 'अनिवार्य', परम्परा धान्न घर फर्किए जुम्ली

हिमा गाउँपालिका- ५ जुम्लाका ४० वर्षीय धोजबहादुर शाही भारतबाट मार्सी धानको बिउ राख्न चैत्र १३ गते घर आईपुगे । गत मंसिरमा मार्सी धान भित्र्याएर भारत पसेका उनी परम्पराअनुसार मार्सीको बिउ राख्न चैतमै घर आइपुगेका हुन् । 

धोजबहादुरको १९ जनाको परिवार छ । ‘मार्सी धानको बिउ राख्न घर आएको हुँ । जुम्ला जिल्लाका अधिकांश युवाहरु मार्सी भित्र्याएर जाने र मार्सीको बिउ राख्न घर फर्कन्छन् ।’ मार्सीले आधा वर्ष मात्र खान पुग्ने भएपछि थप आधा वर्ष खाने चामलको जोहो गर्न भारत जाने बाध्यता रहेको उनले बताए । धोजबहादुरसँगै गएका अन्य १२ जनासमेत घर फर्केका हुन् । 

मार्सी फलुञ्जेलका लागि उनीहरुले नेपालगञ्जबाट चामलसमेत लिएर आएका छन् । धोजबहादुर रोजगारीका लागि भारत पस्न थालेको पच्चीस वर्ष भयो । उनी यसैगरी मार्सीको बिउ छर्न चैत्रमा फर्कने र मंसिरमा मार्सी भित्र्याएपछि पुनः भारत जाने गर्छन् ।

भारतबाट फर्केका प्रेमबहादुर शाहीले भने, ‘चार महिना कमाएको पैसाले तराईको चामल ल्याएका हौं ।’ जुम्लाका अधिकांश पुरुषहरु मार्सी धानको बाली भित्र्याएपछि रोजगारीका लागि भारत पस्ने गर्छन् ।    उनीहरुसँगै भारतको सिम्लामा रोजगारीका लागि पुर्णबहादुर शाही पनि गएका थिए । उनी पनि चैत्रको २० गतेभित्र मार्सीको बिउ छरिसक्ने भन्दै चैत्रको १३ गते घर फर्किए । ४६ वर्षीय पुर्णबहादुर सरकारले रोजगारी नेपालमै दिने भए भारत पस्ने रहर नभएको बताउँछन् । ‘जुम्लामा उत्पादन हुने मार्सीले ६ महिना पनि खान पुग्दैन,’ उनले भने, ‘त्यसैले म हरेक वर्ष ६ महिनाको खानाको जोहो गर्न भारत जानछु ।’ उनी पनि धोजबहादुरले जस्तै नेपालगञ्जबाट खाद्यन्न बोकेर घर फर्किएका हुन् । 


    
कनकासुन्दरी गाउँपालिका- ७ जुम्लाकी सानी रोकाय मार्सी धानको बिउ राख्ने चटारोमा भेटिइन् । मार्सीको बिउ राख्नको लागि खेत जोत्ने लगायतको कामको लागि उनी चैत्रको पहिलो हप्तादेखि नै उनलाई हतारो छ । चैत्र १२ गते परम्पराअनुसार बिउ भिजाउने प्रचलन जुम्लामा छ । चैत्र १२ गते भिजाएको बिउ परम्पराअनुसार सानीले पनि चैत्र २० गते छरिन् । यसलाई स्थानीय भाषामा बिसुवाँ मनाउने भनिन्छ । मार्सीको बिउ छरेपछि चेलीबेटी बोलाएर खाना खुवाउने र माईत जाने तयारीसमेत सानीले गरेकी छन् । उनका अनुसार चैत्र १२ गते भिजाएको बिउ १६ गते भान्सा कोठामा थुपारिन्छ र हरियो स्याउलाले छोपिन्छ । 

बिउ भिजाउने, थुपार्ने र छर्नको लागि जुम्लामा आफ्नै परम्परा छ । यो परम्पराभित्र रहेर मात्रै स्थानीय किसानले मार्सी धानको बिउ राख्छन् । ‘बिउ छरिकन माइत जान्या हुँ,’ उनले भनिन्, ‘चेलीबेटी बोलाई खाना खुवाउन पनि त्यहै छ ।’ उनले मार्सीको बिउ छरेपछि खेतमा मल ‘गोबर’ बोकेर थुपार्ने काम गर्न लागेको बताइन् । परम्पराअनुसार चैत्रमा छरेको मार्सी जेठमा रोप्ने र कात्तिकमा काट्ने परम्परा जुम्लामा छ । चिसो ठाउँ भएकाले ढिलो गरी बिउ उम्रने र पाक्ने उनले बताइन् । १३ जनाको परिवारलाई वर्षभरी खान पुग्ने मार्सी फलाउनको लागि रोकायलाई यति बेला बिउ राख्न भ्याइनभ्याई छ ।

कनकासुन्दरी- ७ कै डल्ली सुनारलाई समेत मार्सी धानको बिउ राख्ने चटारो छ । चैत्र २० गते बिसवाँ मनाइएन भने त्यसपछि बिउ राख्न नमिल्ने उनले बताइन् । ‘परम्परा तोडेर मार्सीको बिउ राखिँदैन । जुम्लामा मार्सीको बिउ राख्ने आफ्नै परम्परा छ,’ उनले भनिन् । जिल्लाभरी सबैले परम्पराअनुसार नै बिउ भिजाउने, थुपार्ने र छर्ने उनको भनाइ छ । 

जुम्ला उच्च हिमाली जिल्ला हो । चिसो हावापानीमा फल्ने मार्सी धान समुद्री सतहभन्दा २ हजार २ सय ५० देखि २ हजार ९ सय फिटसम्म फल्छ । मार्सी धानको लागि जुम्ला उपयुक्त स्थान भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार जिल्लाका सबैजसो स्थानमा मार्सी धान फल्छ । जिल्लाभर १ हजार ३ सय हेक्टर जमिनमा कालो मार्सी धान लगाउने गरिएको उनले जानकारी दिए । गत वर्ष ३ हजार ३ सय मेट्रिक टन मार्सी धान जुम्लामा फलेको प्रमुख देवकोटाले जानकारी दिए । चिसो ठाउँ र उच्च क्षेत्रमा फल्ने यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा धेरै बेरसम्म भोक नलाग्ने उनले बताए ।

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएको भन्ने किंवदन्ती छ । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलोपटक लगाइएको थियो । जुम्लामा मार्सी धानको बिउ छर्दा र रोप्दा घरका पुरुष नभए मृत्यु भएसरह मान्ने परम्परा रहेको सिंजा गाउँपालिका २ का भक्तप्रसाद तिवारीले बताए । अरु बेला जहाँ गए पनि मार्सीको बिउ राख्न घर आइपुग्ने परम्परा भएको उनले बताए । त्यसैले मार्सीको बिउ राख्नको लागि भारत गएको युवादेखि वयस्क पुरुषहरु घर र्फिर्कएका छन् ।

सम्बन्धित खबरहरु