Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

सिंगटी हाइड्रोपावरको आइपीओ बाँडफाँट अर्को साता

न्युज कारोबार काठमाडौं चैत १८, २०७७       

सिंगटी हाइड्रोपावरको आइपीओ बाँडफाँट अर्को साता

सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ । अर्को साता बुधबारसम्ममा आइपीओको प्रि-अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने बताइएकाे छ । 

सीडीएससीको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादेले बताए । उनका अनुसार सबै डाटाहरु सीडीएससीकै सिस्टमबाट लिनुपर्ने भएकाले त्यसमा समस्या आउँदा बाँडफाँट केही पछाडि धकेलिएको हो । अर्को सातासम्म पनि सिस्टममा देखिएकाे समस्या नहटे आइपीओको बाँडफाँड अझै पर धकेलिनसक्ने उनकाे भनाइ छ ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । त्यसैगरी २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणाभन्दा बढी हाे ।

सम्बन्धित खबरहरु