Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

न्युज कारोबार काठमाडौं चैत १६, २०७७       

डोल्पामा नगरप्रमुखका दुई डोजरमा आगजनी

डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जंगलमा भे १ क ४६३६ र भे १ क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान सुरु गरिएको बताए । आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शंका नभएको शाहीको भनाइ छ । (रासस)

सम्बन्धित खबरहरु