तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बिमाबापतको एक करोड रुपैयाँ भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बिमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि त्यसबापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो ।
अस्पतालको आम्दानीको स्रोत नभएको र बिमाबापतको औषधिको एक करोड रुपैयाँ ६ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । 'बिमाले अस्पताललाई रकम भुक्तानी नगर्दा औषधि खरिद प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ,' उनले भने, 'केही दिनभित्र रकम भुक्तानी नभए उपचार केन्द्रमा औषधि अभाव हुने भएको छ ।' अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै बिमा रकम भुक्तानी गरिदिन उनले आग्रह गरे ।
उपचार केन्द्रले फार्मेसीलाई नै औषधिबापतको ८० लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । 'पहिलाकै पैसा दिनसकेका छैनौँ, बिमाबापतको रकम आए त्यो भुक्तानी गरेर थप औषधि खरिद गर्ने योजनामा छौँ,' डा. श्रेष्ठले भने । औषधि आपूर्तिकर्तालाई औषधि पठाउन आग्रह गरे पनि पहिलेकै भुक्तानी बाँकी भएकाले आपूर्तिकर्ताले पनि औषधि पठाउन मानेको छैन ।
अस्पतालमा दैनिक २ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ९० प्रतिशत बिमा गरेका बिरामी आउँछन् । 'बिमाको रकम नपाउने समस्या देशभर नै हो, बिमा कार्यालयमा बुझ्दा जनशक्ति नभएर भुक्तानी दिन नसकेको भन्ने जवाफ आउँछ,' उनले भने ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
५० शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखाला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउँछन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । त्यसैअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बिहान १० बजेदेखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स‑रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ । मेजर शल्यक्रिया र पाँच शय्याको सघन उपचार कक्ष सञ्चालनको तयारी गरिएको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
अस्पतालको थप सुधार र विकासका लागि गुरुयोजना पनि बनाइएको छ । गुरुयोजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीले जानकारी दिए । 'गुणस्तरीय सेवा प्रवाहका लागि उपचार केन्द्रलाई पूर्वाधार अभाव पनि छ, सेवासुविधा विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,' भण्डारीले भने । (रासस)