राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । ऊर्जा बचत कार्य गरेबापत बैंकले सुजल डेरी प्रालि र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंकले सुजल डेरीलाई १५ लाख ३५ हजार ९९५ र गोल्डेन स्टारलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको जनाएको छ । जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान‑प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म १९ वटा उद्योगलाई ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताएका छन् ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सी (पीईए) को रुपमा सहायतासम्बन्धी कार्य गर्दै आएको छ ।
आयोजना अन्तर्गत मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्ने उद्योगलाई जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ ।